बुटवलमा कांग्रेसको शक्ति प्रदर्शन : रुपन्देहीबाट राजधानी नसार्न चेतावनी

 

रुपन्देही, माघ ३ ।

प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारे त्यसको सशक्त प्रतिरोध गर्ने कांग्रेसका नेताहरुले चेतावनी दिएका छन । प्रदेशको स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुुुम्बिनी राख्न दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले बुटवलमा आयोजना गरेको जनप्रदर्शनमा लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, संघ र प्रदेशसभा सदस्य तथा जिल्ला सभापतिहरुले रुपन्देही आर्थिक, सामाजिक, भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले प्रदेश राजधानीको लागि उपयुक्त भएको भन्दै प्रदेशको स्थायी राजधानीका लागि जस्तोसुकै आन्दोलनको लागि तयार रहेको बताएका हुन ।

सरकाले प्रदेशको राजधानी रुपन्देहीबाट अन्यत्र सार्न षड्यन्त्र गरिरहेको भन्दै उनीहरुले राजधानी सार्ने धृष्टता गरे ठूलो मुल्य चुकाउनु पर्ने बताए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो वर्षको आजकै दिन रुपन्देहीलाई प्रदेश नम्बर पाँचको स्थायी राजधानी तोकेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेशको राजधानी रुपन्देहीबाट सार्न खोजिए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले केपी ओलीको सरकार केन्द्र र शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको आरोप समेत लगाउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारले जनमतको निरन्तर अपमान गरिरहेको आरोप लगाउनुभयो ।

अर्का केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले रुपन्देहीलाई स्थायी राजधानीको रुपमा स्थापित गर्दा समग्र प्रदेशको विकासमा योगदान पुग्ने बताउनुभयो । अखण्ड पाँच नम्बर प्रदेशको लागि भएको आन्दोलनले प्रदेशलाई अखण्ड राखेको स्मरण गराउँदै उहाँले रुपन्देहीलाई स्थानीय राजधानी बनाउनका लागि थालेको जनदबाबले स्थायी राजधानी कायम हुने बताउनुभयो । उहाँले वाइडबडी बिमान खरिद प्रकरणमा ओली सरकार र गाडी खरिद प्रकरणमा प्रदेश सरकारले चरम भष्ट्राचार गरेको भन्दै छानबिन गरी दोषिलाई जेल पठाउनु पर्ने बताउनुभयो

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया