तुलसीपुर, २५ पौष । गत आईतवार आएको हावाहुरी कारण रुख ढलेपछि तुलसीपुर वडा नम्वर ४ को केहि गाउँमा विगत ४ दिन देखी विद्युत सेवा अवरुद्ध भएको छ । वडाको सिस्नेकुटी भन्ने स्थानमा तिनुको रुख ढलेपछि विद्युतको पोल समेत भाचिएकाले विद्युत सेवा अवरुद्ध भएको स्थानिय हिमाल खड्काले जानकारी दिएका छन् । उनका अनुसार पोल भाँचिएपछि झन्डै पाँच सय मिटर विद्युतको तारले जमिन छोएको छ ।करेन्ट लाग्ने सम्भावना बढेपछि अहिले लामीदमारबाट विद्युत लाईन छुटाईएको उनले बताएका छन् ।
सोहि वडाको भेरीखोर, सिमलखोरिया,माथिल्नो तरुले लगाएतका गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएपछि त्यस क्षेत्रका झन्डै ६०/७० घरधुरी मर्कामा परेका छन् । त्यस क्षेत्रमा अधिकांस काठका पोलहरु प्रयोग गरिएका छन् । यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रशासनिक प्रमुख युवराज विष्टले उक्त क्षेत्रको समस्या सामाधान छिटै गरिने बताएका छन् ।
रुख ढलेपछि तुलसीपुर ४ का केहि गाउँमा विद्युत सेवा अवरुद्ध
प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार
प्रतिक्रिया