सांसद रेशम चौधरीले एक वर्ष पछि विहिवार सांसदको सपथ लिँदै

काठमाडौं, १९ पौष । कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् । कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।

सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । चौधरीलाई बिहान साढे ११ बजे सपथ गराउने कार्यक्रम तय गरिएको थियो तर कारागारबाट लैजान समय लाग्ने भएको भन्दै दिउँसो ३ बजेलाई सारिएको छ ।चौधरी सपथ ग्रहणपछि कारागार नै चलान हुनेछन् । चौधरीको दल राजपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चौधरीको सपथ गराउन दबाब दिइरहेको थियो ।

‘प्रतिनिधिसभा नियमावली २०७५’ को नियम २४४ को उपनियम ३ अनुसार नैतिक पतन देखिने फैजदारी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सदस्यले सांसदको हैसियतमा कुनै पनि काम गर्न नपाउने उल्लेख गरिएको छ । त्यस्तै उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म र कैदमा बसेको अवस्थासम्म सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ ।

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।२०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारागारमा तीन वर्षदेखि कारागारमा छन् ।

प्रकाशित मिति : २०७५ पुष १९ गते बिहिवार
प्रतिक्रिया