जिवन डागी ,रोल्पा चैत २२ ।
रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सोमवारदेखि रोल्पाको लिबाङमा सुरु भएको छ । ५ दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमको आज एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले प्रविधिको विकाससँगै जिल्लाको पत्रकारितालाई थप गुणस्तरीय बनाउदैं लैजानुपर्ने बताउनुभयो । नयाँ संरचना अनुसार स्थानीय तहमा रहेर गाउँ गाउँमा लुकेका र लुकाइएका समाचारलाई बाहिर ल्याउन समेत उहाँले आग्रह गर्नुभएको थियो । जिल्लाको नयाँ संरचना अनुसार हरेक स्थानीय तहमा सञ्चार माध्यमको पहँुच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको पत्रकारिता तालिम आगामी चैत २५ गतेसम्म चल्ने बताइएको छ ।
तालिम व्यवस्थापन समितिका संयोजक माधवकुमार ओलीको अध्यक्षतामा भएको तालिमको उद्घाटन भएको थियो । तालिमको उद्घाटन कार्यक्रममा तालिम व्यवस्थापन समितिका सदस्य जीवन डाँगीले तालिमको उद्देश्यकका बारेमा जानकारी गराउदैं सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने सञ्चालन सदस्य भिम वलीले गर्नुभएको थियो । आज दोस्रो दिन दाङका पत्रकार बसन्त विबस आचार्य लगायतले प्रशिक्षण दिईरहनुभएको छ । हिजो तालिमको पहिलो दिन पत्रकार महासंघका अध्यक्ष न्यौपाने र संस्थापक अध्यक्ष काशीराम डाँगीले प्रशिक्षण दिनुभएको थियो । रेडियो रोल्पा, रोल्पा अनलाइन, जनआकांक्षा साप्ताहिक, चतुर्भुज साप्ताहिक लगायतको मिडिया साझेदारीमा सञ्चालित तालिममा ८० जना भन्दाबढीको सहभागिता रहेको आयोजकले बताएको छ ।।