बसले स्कुटरलाई ठक्कर दिदा एकको मुत्यु ,एक घाईते

तुलसीपुर, ९ पौष ।दाङमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । घोराहीमा बसको ठक्करबाट स्कुटरलाई ठक्कर दिदा उक्त घटना भएको प्रहरीले बताएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखनपार्कको घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई सोमवार विहान साढे ११ बजे तिर ठक्कर दिएको हो ।दुर्घटनामा परि स्कुटर चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखाली निबासी २९ बर्षिय मेघराज पुनमगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा परि स्कुटरमा सवार सोहि ठाउँकै २४ बर्षिय महेश बुढामगर घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सामान्य उपचार पछि थप उपचारका लागी जिल्ला बाहिर रिफर गर्ने तयारी भईरहेको बताईएको छ ।बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएपछि मृतकका आफन्तीले बसमा तोडफोड समेत गरेका छन् ।

बस चालकको लापरबाहीले गर्दा दुर्घटना भएको भन्दै उनीहरुले शव उठाउन नदिए पछि घटनास्थलमा केहि समय तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिएका छन् । मृतकका आफन्तीहरु आक्रोसमा आउन थालेपछि शवलाई घटनास्थलबाट उठाउनका लागी प्रहरीले अश्रुग्यास प्रहार समेत गरेको उनले बताएका छन् ।शबलाई अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृहमा राखिएको छ भने ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार
प्रतिक्रिया