जिप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी सहित ५ जनाको मुत्यु

तुलसीपुर, २८ मंसीर । सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप विहिवार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया कुनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको ज्यान गएको हो ।
चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परि मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् । घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटना विहिवार साँझ ७ वजेतिर भएको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया