काँग्रेसको विधान मस्यौदामाथि सदस्यको फरक राय

तुलसीपुर,२१ मंसीर ।
नेपाली काँग्रेसको संशोधित विधान मस्यौदामाथि सदस्यहरुले फरक फरक राय राखेका छन् । विधानमा रहेका पदाधिकारी चयनका सन्दर्भमा सदस्यहरु विभाजित देखिएका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुमध्ये केहीले प्रदेश र केन्द्रका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने सुझाव दिएका छन् । सभापतिले मनोनीत गर्ने प्रतिशत १५ मात्रै हुनुपर्ने र वडा तहदेखि केन्द्रसम्म मजदुरको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने विचार पनि बैठकमा राखिएको छ ।

संसदीय समिति, लेखा समिति, निर्वाचन समिति पनि महाधिवेशनबाट नै निर्वाचित हुनुपर्ने सुझाव आएको नेता अजुर्ननरसिंह केसीले जानकारी दिनुभयो । हिजो अर्जुननरसिंह के.सी., दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, जीवन परियार, सुजाता परियार, बीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले बोल्नु भएको थियो । आजको बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया