‘अपांगता भएकालाई विशेष अवसर दिनुपर्छ’

 

घोराही, १७ मंसिर । अपांगता भएकाहरुलाई अन्यको तुलनामा विशेष अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । उनीहरुको पनि सम्मानपुर्वक पेसा, व्यवसाय गरेर बाच्न पाउने अधिकार भएको हुदा राज्यले अपांगता भएकाहरुको रोजगार सुनिश्चितताको लागि विशेष योजना ल्याउनुपर्ने सहभागिहरुको माग थियो ।

२७ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा अपांग मानव अधिकार एवम सरोकार मञ्चले आयोजना गरेको अपांगता भएकाहरुको सवाल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । वक्ताहरुले शारीरिक रुपमा ठगिएकाहरुको लागि राज्यले जिम्मा लिनुपर्ने बताएका थिए । साथै अपांगता भएकाहरुले पाउनुपर्ने परिचयपत्र पनि न्याय संगत रुपमा वितरण नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जन्मजात मात्र नभइ दैविक प्रकोप, विभिन्न खाले दुर्घटनामा पनि व्यक्ति अपांगता हुन सक्ने भन्दै अपांगता भएकाहरुलाई सबैले माया र सम्मान गर्नुपर्ने बताए । उनले अपांगता भएकाहरुलाई पनि सम्मानपुर्वक जीवन यापनको अधिकार भएको हुदाँ उनीहरुको क्षमता अनुरुपको पेसा व्यवसाय राज्यले उपलब्ध गराउनुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिधि समेत रहेको नगरप्रमुख चौधरीले अपांगता भएकाहरुको सवालमा बोल्दै उपममहानगरले सार्वजनिक भवन, व्यक्तिगत भवन, शौचालय, सार्वजनि स्थलहरु अपांग मैत्रि बनाउनुपर्ने नगरको कार्यविधि मै उल्लेख गरेको हुदाँ नगरवासीलाई यसको पालनको लागि आग्रह समेत गरे । उनले अपांगता भएकाहरुलाई सहयोगी सामाग्री दिने, उनीहरुको चाहाना र क्षमता अनुरुपको तालिम दिने कार्यक्रमहरु उपमहानगरले ल्याएको जानकारी समेत गराए । यस्तै उपमहानगर अन्र्तगतका सबै वडाहरुलाई अपांगताको क्षेत्रमा विशेष काम गर्नको लागि आफुले आग्रह गरेको पनि बताए ।

नगर प्रमुख चौधरीले अपांगता भएकाहरुलाई आश्वासन दिदै अपांगता भएकाहरुलाई विकासको मुल प्रभाहमा ल्याउनको लागि उनीहरुलाई कुनै पनि अधिकारबाट बन्चित नगरिने बताए ।

अपांग मानव अधिकार सरोकार मञ्चका शिव घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार संजाल दाङका अध्यक्ष केशवकुमार शर्मा, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, वडा नम्वर १४का अध्यक्ष शक्तिराम डागी, वडा नम्वर १५का अध्यक्ष रमेश पाण्डे, पत्रकार ओपेन्द्र बस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बस्नेत सम्मानित

कार्यक्रममा अपांगताको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार ओपेन्द्र बस्नेत र स्थानिय निकाय मार्फत अपांगताको क्षेत्रमा राम्रो काम गरेको भन्दै वडा नम्वर १४का वडा अध्यक्ष शक्तिराम डागीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रमा सम्मान पाउनेहरुको परिचय बासुदेव रिजालले गराएका थिए भने कार्यक्रमको सहजिकरण भुमा चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया