तुलसीपुरमा समुदाय प्रहरी साँझेदारी कार्यक्रम सुरु

तुलसीपुर, मंसीर १४ । स्थानीय स्तरमा हुने आपराधिक घटना न्युनीकरणका लागि समुदायीक प्रहरी साझेदारी कार्यक्रमका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाका विच समझदारी पत्र हस्ताक्षर भएको छ । महिला हिंसा, लागुऔषध सेवन लगायतका अपराध र सामाजिक विकृति विसंगतिका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्नलागिएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेमराज शाहीले वताए । उनले उपमहानगरपालिकासँग मिलेर प्रहरीले हरेक ठाउँमा सचेतना अभियान सञ्चालन गर्ने समेत वताए । “समुदायलाई नै परिचालन गरेर हामीले काम गर्नेछौ” उनले प्रहरी र समुदायका मानिसहरु सँगसँगै रहेर काम अगाडि वढाउने समेत जानकारी दिए ।
कार्यक्रम लागुभएसँगै वडा, टोल र बस्तीका साथै विद्यालयमा केन्द्रीत रहेर विभिन्न समुह गठन गरिने पनि शाहीले जानकारी दिए । उनले विभिन्न समुहलाई जनचेतनामुलक काममा अग्रसर गराइने समेत जानकारी गराए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रहरीसँग मिलेर काम गर्नका लागि उपमहानगर तत्पर रहेको वताउँदै प्रहरीको सहयोगमा उपमहानगरपालिकाले वालिकाहरुलाई प्रतिरक्षा तालिम दिनुपर्ने आवश्यकता रहेको वताए । “महिलाहरुले कुनै पनि अफ्ठेरोमा पर्दा प्रतिरक्षा गर्न सकुन् भन्नका यस्तो तालिमको आवश्यकता रहेको छ ” नगरप्रमुख पाण्डेले भने ।

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया