जिप दुर्घटनामा परि ज्यान गुमाउने संख्या पाँच पुग्यो , तिन घाईते

तुलसीपुर , १२ मंसीर ।दैलेखमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।दुर्घटनामा परि दुई जनाको घटना स्थलमै ज्यान गएको हो भने अन्य तिन जनाको उपचारका लागी सुर्खेत लैजादै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
ज्यान जानेमा दैलेखको ठाटीकाँध गाउँपालिका–३ बस्ने ४५ वर्षिय राजेन्द्र शाही, सोहि गाउपालिका वडा नम्वर १ बस्ने २४ वर्षिय निर्मल बम, जिप चालक २ बस्ने ३० बर्षिय रमेश शाही , वडा नम्वर ३ बस्ने ४६ बर्षिय रत्न शाही र वडा नम्वर ४ बस्ने २६ बर्षिय दिलिप शाही रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका अन्य तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ । जिपमा चालक सहित ८ जना सवार रहेको बताईएको छ । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको जीप सोहि गाउँपालिकाको वडा नम्वर ३ सुईया भन्ने स्थानमा बुधवार विहान साढे आठ बजेतिर दुर्घटनामा परेको हो । घटना बारे थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया