तुलसीपुर,३ मंसीर ।
असार शुक्ल एकादशीका दिन जलशयनीमा रहनु भएका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने दिनका रूपमा सोमवार सखरखन्ड र पिँडालु खाएर हरिवोधनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशीका दिन हरिशयनी एकादशी भनी तुलसीको बोट रोप्ने परम्परा छ । तुलसीलाई विष्णुको प्रतिक मानिन्छ ।
सोमवारबाट चतुर्मास समापन हुने भएकोले विवाह व्रतवन्ध उपनयन देवप्रतिष्ठा लगायतका कार्य गर्न शास्त्रले अनुमति दिएको छ । असारमा रोपिएको तुलसीको यसै दिन विवाह गरिदिने प्रचलन छ । ज्योतिष डा. सुनील सिटौलाका अनुसार मङ्सिर २१ गतेसम्म वृहस्पति अस्त परेकोले नियमित पूजा बाहेक विवाह व्रतवन्ध आदि कार्य अस्त सकिएपछि मात्र गर्नु उत्तम हुन्छ ।
सोमवार शेषनारायण (फर्पिङ), विशङ्खु नारायण (गोदावरी), चाँगुनारायण (चाँगु), इचङ्गु नारायण (हल्चोक)मा विशेष धार्मिक मेला लाग्छ । बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. रुपेन्द्र पुरीका अनुसार यो मौसममा सखरखन्ड, पिँडालु खाँदा शरीरमा उर्जा दिन्छ । ती कन्दमुल शरीरले पचाउन सक्ने क्षमता यो मौसममा रहने भएकोले खाँदा उत्तम हुन्छ, तर यो कफप्रदायक भएकोले दमका रोगीले नखानु नै राम्रो हुन्छ ।