२०८३ कार्तिक ३ गते सोमवार

आशाका किरणले न्यानो कपडा बाँडेर आश्रित मानवहरूको मुहारमा ल्यायो मुस्कान

भालुवाङ २ कार्तिक । हिन्दुहरूको महान् पर्व बडादशैं सुरु भएसँगै गाउँघरमा चहलपहल बढेको छ। घरघरमा आफन्त र इष्टमित्रको जमघट हने, नयाँ कपडा लगाउने, मिठोमसिनो खाने र रमाइलो गर्ने क्रम सुरु भएको छ। तर कुनै समय सडकपेटीमा रात बिताउन बाध्य भई अहिले आश्रमको सहारामा जीवन बिताइरहेका मानवहरूका लागि भने यस वर्षको दशैं विशेष बनेको छ।

दशैंको खुसी आफ्ना परिवार र आफन्तसँग मात्रै सीमित नराखी आश्रममा आश्रित मानवहरूसँग पनि बाँड्नुपर्छ भन्ने मानवीय भावनाका साथ दाङको राप्ती गाउँपालिका–१, भालुवाङमा प्रधान कार्यालय रहेको आशाका किरण संस्थाले न्यानो कपडा वितरण गरेको छ।

संस्थाले सोमबार राप्ती गाउँपालिका–८, कोहलुवा मिलनडाँडा स्थित निलसागर सेवा आश्रममा पुगेर त्यहाँ आश्रित मानवहरूलाई जाडोमा लगाउने न्यानो कपडा प्रदान गरेको छ । दशैंको अवसरमा नयाँ कपडा पाएपछि आश्रममा आश्रित मानवहरूको मुहारमा खुसी छाएको थियो। दशैं भनेको नयाँ कपडा लगाउने, मिठो खाने र रमाइलो गर्ने पर्व मात्रै नभई दुःखमा परेकाहरूको पीडामा मलम लगाउने, माया बाँड्ने र मानवीय सेवामा समर्पित हुने अवसर पनि हो भन्ने सन्देश संस्थाले आफ्नो कार्य मार्फत दिएको छ।

संस्थाका एक जना सल्लाहकारले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा विदेशबाट पठाएको ४९ हजार रुपैयाँबाट न्यानो कपडा खरिद गरी वितरण गरिएको हो। उक्त रकमबाट संस्थाले आश्रममा आश्रित मानवहरूका लागि ३५ थान न्यानो कपडा तथा आश्रममा कार्यरत तीन जना कर्मचारीलाई कपडा र १५ किलो आलु पनि सहयोग गरेको छ।

विशेषगरी चिसो मौसम नजिकिँदै गर्दा आश्रममा आश्रित मानवहरूलाई न्यानो कपडाको आवश्यकता महसुस गरी सहयोग गरिएको संस्थाले जनाएको छ। चाडपर्वका बेला आफ्ना परिवार र आफन्तबाट टाढा रहेका मानवहरूलाई पनि अपनत्व र आत्मीयताको अनुभूति गराउने उद्देश्यले सहयोग गरिएको हो। संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा न्यानो कपडा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संस्थाका वरिष्ठ सल्लाहकार जगतप्रसाद पोख्रेलले सडकबाट उद्धार गरी आश्रमसम्म ल्याइएका मानवहरूको उचित उपचार, हेरचाह र पुनस्र्थापनामा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले मानसिक स्वास्थ्य समस्याका कारण सडकमा जीवन बिताउन बाध्य भएका मानवहरूलाई आश्रमले आश्रय दिनु आफैँमा प्रशंसनीय कार्य भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन नियमित उपचारसँगै सिर्जनात्मक तथा उत्पादनमूलक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिए।

पोख्रेलले उचित उपचारपछि मानसिक स्वास्थ्य अवस्थामा केही सुधार आएका तथा काम गर्न इच्छुक र सक्षम आश्रित मानवहरूलाई आश्रम परिसरमा रहेको खाली जग्गामा तरकारी तथा फलफूल खेतीजस्ता कृषि कार्यमा सहभागी गराउन सके अझ प्रभावकारी हुने धारणा राखे। यस्ता गतिविधिले उनीहरूलाई व्यस्त र सक्रिय राख्नुका साथै आत्मविश्वास बढाउन, सीप विकास गर्न र आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो।

उनले आश्रमलाई केवल खाना, कपडा र बसोबास उपलब्ध गराउने स्थानका रूपमा मात्र सीमित नराखी आश्रित मानवहरूको शारीरिक, मानसिक र सामाजिक पुनस्र्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। आश्रित मानवहरूको स्वास्थ्य अवस्था, रुचि र क्षमता अनुसार कृषि तथा अन्य सिर्जनात्मक कार्यमा सहभागी गराउन सके उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए।

कार्यक्रममा निलसागर सेवा आश्रमका अध्यक्ष गरिबु चौधरीले आश्रममा आश्रित मानवहरूको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा आशाका किरण संस्थाप्रति आभार व्यक्त गरे। उनले यस्ता मानवीय सहयोगले आश्रम सञ्चालनमा सहजता ल्याउनुका साथै आश्रित मानवहरूमा खुसी र आत्मीयताको अनुभूति गराउने बताए।

दशैंजस्तो महान् पर्वमा परिवारको साथ र आफन्तको माया पाउन नसकेका मानवहरूलाई सम्झिएर गरिएको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। चाडपर्वको वास्तविक सुन्दरता अरूको खुसीमा आफ्नो खुसी खोज्नु र दुःखमा परेकाहरूलाई सहयोग गर्नुमा रहेको उदाहरण संस्थाले प्रस्तुत गरेको छ।

कार्यक्रममा आशाका किरण संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता, संस्थापक अध्यक्ष सूर्यकिरण केसी, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सहकोषाध्यक्ष शिवराज भुसाल, साधारण सदस्य बासुदेव खनाल लगायतको विशेष उपस्थिति रहेको थियो। संस्थाका संस्थापक सदस्य माधव खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव लोकमणी भुसालले गरेका थिए।

प्रकाशित मिति : २०८३ कार्तिक ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।