२०८३ कार्तिक २ गते आइतवार

सबसे सुन्दर बनैबी राप्ती गाउँपालिका थारू गीत सार्वजनिक

भालुवाङ १ कात्तिक। दाङको राप्ती गाउँपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउने सन्देश सहित थारु भाषाको गीत ‘सबसे सुन्दर बनाइबी राप्ती गाउँपालिका’ सार्वजनिक भएको छ। राप्ती गाउँपालिकाको सरसफाइ, वातावरण संरक्षण तथा स्थानीय नागरिकमा सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको उक्त गीत हमार फुलरिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतले आफ्नो गाउँठाउँलाई सफा, सुन्दर र आकर्षक बनाउन सबै नागरिक एकजुट हुनुपर्ने सन्देश दिएको छ।

गायक राजेन्द्र चौधरी र गायिका सोनु कुष्मीको सुमधुर स्वरमा सजिएको गीतको शब्द रचना प्रकाश विष्टले गरेका हुन् भने सङ्गीत संयोजन गणेश चौधरीले गर्नुभएको छ । गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी पोषण भण्डारीले गर्नुभएको हो। भिडियोको छायाङ्कन लक्ष्मण चौधरी र प्रिन्स अक्किनले गरेका हुन् भने सम्पादन तथा कलर संयोजन लक्ष्मण चौधरीले गर्नुभएको हो । थारु भाषामा तयार पारिएको गीतले राप्ती गाउँपालिकाको सरसफाइ अभियानलाई सांगीतिक माध्यमबाट जनस्तरसम्म पुर्‍याउने प्रयास गरेको छ। गीतमार्फत घरआँगन, टोल, बस्ती, सडक तथा सार्वजनिक स्थल सफा राख्नुपर्ने र स्वच्छ वातावरण निर्माणमा सबैको समान जिम्मेवारी रहने सन्देश प्रवाह गरिएको छ।

गीतको अर्को महत्त्वपूर्ण पक्ष स्थानीय थारु भाषा तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन हो। थारु भाषामा प्रस्तुत गरिएको गीतले सरसफाइ जस्तो सामाजिक विषयलाई स्थानीय समुदायको भाषा र भावनासँग जोडेको छ। राप्ती गाउँपालिका थारु समुदायको उल्लेखनीय बसोबास रहेको क्षेत्र भएकाले स्थानीय भाषामा तयार पारिएका यस्ता जनचेतनामूलक गीतले समुदायमा सकारात्मक सन्देश पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। सरसफाइ कुनै एक व्यक्ति वा निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको सन्देश गीतको मूल भाव रहेको छ। आफ्नो घरबाट सुरु गरिएको सरसफाइ अभियानलाई टोल, समुदाय हुँदै सिङ्गो गाउँपालिकासम्म विस्तार गर्नुपर्ने आवश्यकता गीतले उजागर गरेको छ।

पछिल्लो समय स्थानीय तहहरूले सरसफाइ, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएका छन्। यस्ता अभियानलाई सफल बनाउन नागरिकको व्यवहार परिवर्तन र सक्रिय सहभागिता आवश्यक हुने भएकाले गीतसङ्गीतमार्फत जनचेतना फैलाउने प्रयासलाई सकारात्मक रूपमा लिन सकिन्छ। ‘सबसे सुन्दर बनैबी राप्ती गाउँपालिका’ अर्थात् राप्ती गाउँपालिकालाई सबैभन्दा सुन्दर बनाऔँ भन्ने भाव बोकेको गीतले स्थानीय नागरिकमा आफ्नो गाउँठाउँप्रति अपनत्व, जिम्मेवारी र सामूहिक भावनाको विकास गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। गीतले सरसफाइलाई स्वस्थ जीवनशैली, सभ्य समाज र समृद्ध स्थानीय तह निर्माणको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ।

विशेषगरी बालबालिका, युवा, महिला तथा विभिन्न सामाजिक सङ्घसंस्थालाई सरसफाइ अभियानमा सहभागी गराउन यस्ता जनचेतनामूलक सांगीतिक सामग्री प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ। स्थानीय भाषा, कला र सङ्गीतलाई सामाजिक रूपान्तरणसँग जोड्ने प्रयासस्वरूप तयार पारिएको यस गीतले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।