२०८३ असोज ३० गते शुक्रवार

दाङ प्रशासनद्धारा चार्डपर्व मर्यादित र सुरक्षित रुपमा मनाउन आग्रह

फोटो फाईल

तुलसीपुर, ३० असोज । जिल्ला प्रशासन कार्यालय दाङले नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ६ बुँदे अनुरोध जारी गरेको हो। शुक्रवार प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेद्धारा हस्ताक्षरित जारी अनुरोधमा चाडपर्व मनाउने क्रममा गैरकानुनी गतिविधि नगर्न, नगराउन तथा सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्ने कार्यबाट टाढा रहन सबैलाई आग्रह गरिएको छ । प्रशासनले चाडपर्वका अवसरमा गैरकानुनी रूपमा जुवातास खेल्ने, कुनै पनि प्रकारका बाजी तथा सट्टेबाजी गर्ने कार्य नगर्न स्पष्ट पारेको छ।

त्यस्तै, अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने तथा म्याद नाघेका वस्तु बिक्री वितरण गरी उपभोक्ताको हितविपरीतका गतिविधि नगर्न पनि अनुरोध गरिएको छ। त्यसैगरी, मादक पदार्थ तथा अन्य नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने र शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। जिल्ला सुरक्षा समितिको परामर्शमा स्थानीय सुरक्षा निकायले निर्धारण गरेबमोजिमको समयमा मात्र होटल व्यवसाय सञ्चालन गर्न पनि अनुरोध गरिएको छ। सवारी साधन सञ्चालनका क्रममा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा तोकिएको भाडादरभन्दा बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ। यस्तै, पटका, आतिसबाजी, भुइँचम्पा लगायतका प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।