बाँके २७ असोज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई सहज यातायात सुविधा दिने उद्देश्यले तीन करोड ५८ लाख रुपैयाँभन्दा बढी खर्चेर खरिद गरेका सातवटा नगरबस प्रयोगविहीन बनेका छन्। आर्थिक वर्ष २०७५/७६ मा खरिद गरिएका ती बस सञ्चालनमा घाटा भएपछि ठेकेदारले बसपार्कमै थन्क्याएका हुन्। विगत तीन वर्षदेखि सञ्चालनमा नरहेका बस अहिले जीर्ण बन्दै गएका छन्।
बस पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न वडा नं. ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा समिति गठन गरिए पनि हालसम्म प्रतिवेदन बुझाइएको छैन। लामो समय थन्किएका बस सञ्चालनयोग्य बनाउन लाखौँ रुपैयाँ खर्चिनुपर्ने अवस्था रहेको संयोजक पुनले बताए। नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले लक्षित वर्गका लागि प्राप्त अनुदानबाट खरिद गरिएका बस प्रयोगविहीन हुनु दुःखद भएको भन्दै सार्वजनिक रकमको सदुपयोगमाथि प्रश्न उठाएका छन्।










टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।