दाङ, २१ असोज । बाँकेको कोहलपुर नगरपालिका ११ रेडक्रस रोडमा सञ्चालित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी २२ वर्षीया युवतीको संवेदनशील अङ्ग छोएको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मी ६३ बर्षिय गणेशबहादुर थापा विरुद्ध जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । गत असोज १७ गते स्वास्थ्य परीक्षणको क्रममा जबरजस्ती संवेदनशील अङ्गमा हात हालेर यौनजन्य दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उहालाई नियन्त्रणमा लिएको थियो ।
पीडितका तर्फबाट करणी सम्बन्धी कसुरमा जाहेरी दर्खास्त परे लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले थापालाई पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल हेल्थ प्रोफेसनल काउन्सिल कोड अफ एथिक्स अनुसार स्वास्थ्यकर्मीले महिला बिरामीको संवेदनशील अङ्गको परीक्षण गर्दा अनिवार्य रूपमा संरक्षकको उपस्थिति हुनुपर्ने नियमबारे समेत स्मरण गराइएको छ ।
सामाजिक सञ्जालमा कुटपिट तथा विवादको भिडिओ भाइरल भएपछि घटना सार्वजनिक भएको थियो । शनिबार स्वास्थ्यकर्मीलाई महिलाले झापड हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।पीडित पक्षबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा असोज १८ गते जाहेरी दर्ता भएको थियो । पेट दुख्ने र सेतो पानी बग्ने समस्या भएपछि उपचारका लागि पोलिक्लिनिक पुगेकी युवती सुरुमा शुल्क तिरेर सहज रूपमा फर्किए पनि त्यसको आधा घण्टापछि अभिभावक र केही सञ्चारकर्मीसहित क्लिनिक पुगेकी एक महिलाले थापामाथि हातपात गरेको दृश्य भिडियोमा देखीन्छ । बिरामी स्वयंले तल्लो पेट दुख्ने, गानोगोला भएको र सेतो पानी बग्ने समस्या बताएकाले उहाकै आग्रहमा शारीरिक परीक्षण मात्र गरेको र आफ्नो कुनै खराब नियत नरहेको दाबी थापाको छ ।
नेपाल सिएमए संघको आपत्ती नेपाल सिएमए संघले गत असोज १८ गते प्रहरीले जारी गरेको विज्ञप्तिमा अहेवहरूको दर्ताका सम्बन्धमा गलत र भ्रामक विवरण सार्वजनिक गरिएको भन्दै सङ्घले कडा आपत्ति जनाएको छ । बाँके प्रहरी कार्यालयबाट बिना अध्ययन र प्रमाण तथ्यहीन सूचना सम्प्रेषण हुनु गम्भीर विषय भएको सङ्घको ठहर छ । सङ्घका अनुसार सिएमए/अहेवहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने नभई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा चिकित्सक तेस्रो श्रेणी अन्तर्गत दर्ता हुने कानुनी प्रावधान रहेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा २ -घ) अनुसार निर्धारित पेसागत दायरा र …कोड अफ एथिक्सÚ भित्र रहेर उनीहरूले बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएका छन् । प्रहरीको विज्ञप्तिले उनीहरूको सेवा र कानुनी मान्यतामाथि नै भ्रामक सन्देश फैलाएको सङ्घको दाबी छ ।
सङ्घका कार्यवाहक महासचिव ईश्वर प्रसाद चापागाईंद्वारा जारी विज्ञप्तिमा कुनै पनि संवेदनशील घटनामा प्रचलित कानुनी व्यवस्था र यथार्थ तथ्यका आधारमा मात्र धारणा वा विज्ञप्ति सार्वजनिक गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ । साथै, प्रहरीले सार्वजनिक गरेको उक्त भ्रामक विवरणलाई तत्काल सच्याएर स्पष्ट पार्न सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ ।
नेपाल औषधि व्यवसायी सङ्घ बाँकेले औषधि व्यवसाय सञ्चालनकै क्रममा कुनै व्यक्ति वा समूहले पसलभित्रै प्रवेश गरी गैरकानुनी रूपमा हातपात, कुटपिट तथा अभद्र व्यवहार गर्नुले व्यवसायीको सुरक्षामाझ गम्भीर प्रश्न खडा गरेको जनाएको छ । सङ्घले थापामाथि हातपात, कुटपिट तथा अभद्र व्यवहार गर्नेहरूका साथै सो घटनाको भिडियो सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने, गराउने व्यक्तिलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ । सो घटनाबारे अनुसन्धान गरी सत्य तथ्य विवरण पेस गर्न परिषद्ले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।