२०८३ असोज २२ गते बिहिवार

प्रहरीलाई हातपात गर्ने वडाअध्यक्ष विक पक्राउ, वडाअध्यक्ष माथी प्रहरीले कुटपिट गरेको आरोप

दाङ, २१ असोज । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का ३६ बर्षिय वडाध्यक्ष केशरमान बिक पक्राउ परेका छन् । उनी माथी राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालना गर्ने कार्यमा बाधा पु¥याएको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट–३ का ३३ बर्षिय गोपाल बिक भनिने विरेन्द्र विरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी परेको थियो । सोहि आधारमा मुसिकोट नगरपालिका–१ खलंगा बजारमा लुकिछिपी बसेको अवस्थामा गोपाललाई पक्राउ गर्न खोज्दा वडा अध्यक्ष विकले वादविवाद गर्नुका साथै अश्लील शब्द प्रयोग गर्दै गालीगलौज तथा हातपातसमेत गरेको प्रहरीको भनाई छ ।

साथै विकले आफ्ना भाइ नाता पर्ने गोपाल बिकलाई सोही स्थानबाट भगाउन खोज्दै ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा पु¥याएको प्रहरीको दाबी छ । पक्राउ परेका बिकलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा तालुक जिल्ला प्रशासन कार्यालय मुसिकोटबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीले वडाध्यक्ष बिकविरुद्ध यसअघि पनि विभिन्न मुद्दामा कारबाही तथा जरिवाना भएको विवरणसमेत सार्वजनिक गरेको छ ।

प्रेस नोटमा उल्लेख भएअनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० हजार रुपैयाँ, ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १ लाख रुपैयाँ र अर्को अभद्र व्यवहारसम्बन्धी मुद्दामा २४ हजार रुपैयाँ जरिवाना भएको उल्लेख छ । साथै, गौडेरामा रहँदा समेत असन्तोषजनक चालचलन तथा गुण्डा प्रवृत्तिको व्यवहार देखाउँदै विभिन्न घटनामा संलग्न हुने गरेको प्रहरीको दाबी छ।

वडा अध्यक्ष माथी प्रहरीले कुटपिट गरेको आरोप

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य केशरमान विकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कुटपिट गरिएको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ । मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम जिल्ला समितिले हिरासतमा राखेर कुटपिट गरिएको भन्दै गम्भीर आपत्ती जनाएको छ । वडा अध्यक्ष विकलाई वडासँग सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भन्दै बिहान ९ बजे जिल्ला प्रहरी कार्यालयमा बोलाइएको र कार्यालय परिसरमा पुगेलगत्तै विना पक्राउ पुर्जी हत्कडी लगाएर हिरासतमा राखी कुटपिट गरिएको आरोप लगाएको छ ।

पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सह संयोजक सुरज परियारले जारी गरेको विज्ञप्ति अनुसार कुटपिटबाट वडा अध्यक्ष विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा समेत उहाँको शरीरका विभिन्न भागमा चोट देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै जनप्रतिनिधिमाथि अमानवीय तथा गैरकानुनी व्यवहार भएको भन्दै पार्टीले घटनाको निन्दा गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।