तुलसीपुर १ मंसिर
कारागार कार्यालय तुलसीपुरमा रहेका कैदीहरुको निशुल्क आँखा चेकजाँच गरिएको छ । राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा कारागारले आयोजना गरेको एक दिने निशुल्क शिविरमा एक सय ७७ जना कैदी वन्दीको आँखा चेकजाँच गरिएको जेलर प्रमुख दोर्णबहादुर वलीले जानकारी दिनुभयो । जेलर प्रमुख वलीका अनुसार उपचार सेवा लिनेमा एक सय ५२ पुरुष र २५ जना महिला रहेका छन् ।
जस मध्य तीनजनामा मोतियाविन्दु भेटिएकोे छ । चेकजाँचका क्रममा अधिकांसमा चस्मा लगाउनु पर्ने र अन्यमा आँखा चिलाउने, सुख्खा हुने, आँखामा मासु पलाएको लगाएतका विभिन्न समस्याहरु देखा परेको राप्ती आँखा अस्पताल तुलसीपुरका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो ।
शल्यक्रिया बाह्यक सम्पुर्ण सेवा कारागारमा उपलब्ध गराएको बताउदै नेत्र अधिकृत गौतमले औषधी पनि निशुल्क वितरण गरेको बताउनुभयो । हाल ३ सय ९१ जना कैदी रहेको कारागारमा उनिहरुको माग अनुसार निशुल्क शिविरको आयोजना गरीएको जेलर प्रमुख वलीले बताउनुभयो । शिविरमा नेत्र अधिकृत गौतम सहित नेत्र साहयक सृजना खनाल, रोहित कडायत, मिना मल्ल, नेत्र साहयक प्रशीक्षार्थी मनोरम चौधरी, कृष्ण वली, झरना दहाल, सिमरन चौधरी र सुरेश चौधरी रहेको नौ सदस्य स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिएको थियो ।