काठमाडौं,१५ असोज । सन् २०२६ को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या सन् २०२५ को सोही महिनाको तुलनामा १२.११ प्रतिशत बढी हो। गत वर्षको सेप्टेम्बरमा हवाई मार्ग हुँदै ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए।
यस वर्ष भोटेकोशी क्षेत्रमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण पर्यटक आगमन प्रभावित हुने अनुमान गरिएको थियो। तर, प्रतिकूल परिस्थितिका बाबजुद सेप्टेम्बरमा पर्यटक आगमन बढेको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ। सेप्टेम्बरमा नेपाल आउने पर्यटकमध्ये ३४ प्रतिशतभन्दा बढी दक्षिण एसियाली देशबाट आएका छन्। भारतबाट मात्रै १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन्।
त्यस्तै, चीनबाट आउने पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्षको तुलनामा चिनियाँ पर्यटकको आगमन शतप्रतिशतभन्दा बढीले बढेर ११ हजार २१२ जना पुगेको छ। क्षेत्रगत रूपमा हेर्दा सेप्टेम्बरमा युरोपबाट १५ हजार १४८, अमेरिकी महादेशबाट १० हजार १०७ र ओसिएनिया क्षेत्रबाट ५ हजार ४२२ जना पर्यटक नेपाल आएका छन्। समग्रमा, प्राकृतिक विपत्ति र प्रतिकूल मौसमका कारण पर्यटन क्षेत्रमा चुनौती देखिए पनि सेप्टेम्बर महिनाको पर्यटक आगमनले नेपालमा विदेशी पर्यटकको आकर्षण कायमै रहेको देखाएको छ





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।