२०८३ असोज १५ गते बिहिवार

लुम्बिनी प्रदेशमा असारमा घटेको सवारी दुर्घटना साउन–भदौमा बढ्यो

दाङ ,१५ असोज । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको संख्या घटाउने प्रयास प्रभावकारी देखिन थालेको केही समयमै दुर्घटना फेरि उकालो लागेको छ । चालु आर्थिक वर्षको वैशाखदेखि भदौसम्म पाँच महिनाको तथ्यांक हेर्दा असारमा दुर्घटनाको संख्या सबैभन्दा कम भए पनि त्यसपछि साउन र भदौमा पुनः बढेको देखिएको छ । पाँच महिनामा प्रदेशभर एक हजार सात सय ९३ वटा सवारी दुर्घटना हुँदा एक सय ६० जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा तीन हजार ७० जना घाइते भएका छन् भने दुर्घटनामा दुई हजार चार सय ४७ वटा सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाखमा तीन सय ९० वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा चार सय ८० वटा सवारीसाधन संलग्न थिए भने ६१ जनाको मृत्यु र छसय ५१ जना घाइते भए । दुर्घटनामा परेका पाँच सय ९३ जनालाई प्रहरीले उद्धार गरेको थियो । पाँच महिनामध्ये वैशाखमा दुर्घटनाबाट हुने मानवीय क्षति सबैभन्दा बढी भएको देखिन्छ । जेठमा भने दुर्घटनाको संख्या उल्लेख्यरुपमा घट्यो । उक्त महिनामा दुई सय ९० वटा दुर्घटना हुँदा तीन सय ७९ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा ३४ जनाको मृत्यु भयो भने चार सय ६४ जना घाइते भएका थिए । दुर्घटनामा चार सय ५३ जनाको उद्धार गरिएको थियो । वैशाखको तुलनामा जेठमा दुर्घटनाको संख्या एक सय र मृत्यु हुनेको संख्या २७ ले घटेको थियो ।

असारमा दुर्घटना अझै घटेर दुई सय ७९ वटामा सीमित भयो । पाँच महिनाको अवधिमा यही महिना सबैभन्दा कम दुर्घटना भएका थिए । असारमा तीन सय ७४ वटा सवारीसाधन दुर्घटनामा संलग्न भएका थिए भने सातजनाको मृत्यु र चार सय ८२ जना घाइते भएका थिए । यस महिनामा प्रहरीले २१ जनाको उद्धार गरेको तथ्यांक छ । यद्यपि दुर्घटना घटे पनि घाइते हुनेको संख्या भने जेठको तुलनामा केही बढेको देखिन्छ । असारमा घटेको दुर्घटनाको क्रम भने साउनमा उल्टियो । साउनमा प्रदेशभर चार सय १८ वटा दुर्घटना भए, जुन असारको तुलनामा एक सय ३९ वटा बढी हो । ती दुर्घटनामा छ सय चार सवारीसाधन संलग्न भएका थिए । दुर्घटनामा ३५ जनाको मृत्यु भयो भने सात सय ११ जना घाइते भएका थिए । यो महिनामा भएका दुर्घटनाबाट छ सय ४७ जनाको उद्धार गरिएको थियो । तथ्यांकअनुसार साउनमा दुर्घटनासँगै संलग्न सवारीसाधन र घाइतेको संख्या पनि उल्लेख्यरुपमा बढेको देखिन्छ ।

भदौमा पनि दुर्घटनाको अवस्था साउनभन्दा खासै फरक रहेन । लुम्बिनी प्रदेश प्रहरीको तथ्यांकअनुसार भदौमा चार सय १६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा छ सय १० सवारीसाधन संलग्न थिए भने २३ जनाले ज्यान गुमाएका छन् । भदौमा भएका दुर्घटनामा सात सय ६२ जना घाइते भएका थिए । बितेका पाँच महिनामध्ये भदौमा घाइते हुनेको संख्या सबैभन्दा बढी हो । साउनको तुलनामा भदौमा दुर्घटना दुईवटा मात्र कम भए पनि घाइते हुनेको संख्या ५१ ले बढेको छ । महिनागत तुलना गर्दा दुर्घटनाको अवस्था स्थिर नरहेको देखिन्छ । वैशाखको तीन सय ९० बाट जेठमा दुई सय ९० र असारमा दुई सय ७९ मा झरेको दुर्घटना साउनमा बढेर चार सय १८ पुगेको छ । भदौमा भने चार सय १६ दुर्घटना भएका छन् । अर्थात् असारको न्यूनतम बिन्दुबाट भदौसम्म आइपुग्दा दुर्घटना एक सय ३७ वटाले बढेका छन् । पाँच महिनाको औसतमा लुम्बिनी प्रदेशमा हरेक महिना करिब तीन सय ५९ वटा दुर्घटना भएका छन् ।

मृत्युको तथ्यांक हेर्दा भने वैशाख सबैभन्दा जोखिमपूर्ण महिना देखिन्छ । वैशाखमा ६१ जनाले ज्यान गुमाउँदा जेठमा ३४, असारमा सात, साउनमा ३५ र भदौमा २३ जनाको मृत्यु भएको छ । असारमा मृत्यु हुनेको संख्या उल्लेख्यरुपमा घटे पनि साउनमा पुनः बढेको थियो । भदौमा भने साउनको तुलनामा मृत्यु केही घटेको छ तर घाइतेको संख्या बढेकाले दुर्घटनाको गम्भीरता अझै चिन्ताजनक रहेको देखिन्छ । प्रहरीका अनुसार तीब्र गति, चालकको असक्षमता तथा लापरवाही, मादक पदार्थ सेवन र भौगोलिक अवस्था दुर्घटनाका प्रमुख कारण हुन् । पाँच महिनाको तथ्यांकले पनि दुर्घटना न्यूनीकरणका लागि केवल दुर्घटना भएपछि उद्धार गर्नेभन्दा दुर्घटना हुन नदिने उपायमा बढी ध्यान दिनुपर्ने देखाएको छ । लुम्बिनीमा पाँच महिनामा भएका एक हजार सात सय ९३ दुर्घटना र त्यसबाट भएको एक सय ६० जनाको मृत्यु केवल प्रहरीको तथ्यांक होइन, प्रदेशको सडक सुरक्षाको अवस्थाको एउटा गम्भीर संकेत पनि हो ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।