दाङ १० असोज । लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि दाङमा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार साँझ ६ः३० बजे सूचना जारी गर्दै अर्को सूचना नभएसम्म जिल्लाभित्र कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको हो।
दाङ तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानलगायतका विपद्को जोखिम बढेको प्रशासनले जनाएको छ। यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभर आवागमन बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। आपत्कालीन अवस्था आएमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङ तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ। यसैबीच, भारी वर्षाको चेतावनीपछि मुख्य राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।
मौसमविद्का अनुसार आइतबारदेखि पूर्वी क्षेत्रमा वर्षाको गतिविधि क्रमशः घट्ने भए पनि पश्चिमी क्षेत्रमा वर्षाको प्रभाव कायम रहनेछ। असोज १२ गते सोमबारदेखि देशभर मौसममा क्रमशः सुधार आउने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझै कम हुँदै जाने पूर्वानुमान गरिएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।