२०८३ असोज ६ गते मङ्गलवार

कांग्रेस घोराही नगर सभापतिमा रावत र मज्गैयाको उम्मेदवारी घोषणा

दाङ,५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत वडा अधिवेशन सकिए संगै अव पालिका अधिवेशनको चर्चा सुरु भएको छ । सोहि अनुसार कांग्रेस घोराही उपमहानगरपालिका नगर सभापति पदका लागि युवा नेता तिलक रावत र प्रदिप मज्गैयाले उम्मेदवारी घोषणा गर्नुभएको छ। दुवै नेताले संगठन सुदृढीकरण, युवाको सहभागिता र अग्रजको अनुभवलाई समेट्दै घोराही कांग्रेसलाई थप सक्रिय, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हाल नगर सभापतिको जिम्मेवारीमा रहनुभएका रावतले आफ्नो उम्मेदवारी घोषणा गर्दै पार्टीलाई थप सुदृढ, क्रियाशील र व्यवस्थित संगठनका रूपमा अघि बढाउने बताउनुभएको छ। उहाँले युवालाई अवसर, जिम्मेवारी र नेतृत्व विकासको भूमिका प्रदान गर्दै अग्रजको अनुभव तथा युवाको ऊर्जालाई संगठन निर्माणमा उपयोग गर्ने धारणा राख्नुभएको छ।

रावतले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताबीच समन्वय, सहकार्य र एकता कायम गर्दै संगठनलाई बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ। पारदर्शी र जवाफदेही कार्यशैलीमार्फत कार्यकर्ताको विश्वास जित्ने तथा घोराहीका सबै वडामा कांग्रेसको संगठनलाई थप सक्रिय, मजबुत र जनमुखी बनाउने उहाँको प्राथमिकता रहेको छ।

त्यस्तै, युवा नेता मज्गैयाले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै कांग्रेस आफ्नो लागि राजनीतिक दल मात्र नभई इतिहास, विचार, संघर्ष र पुस्तौँको योगदानबाट निर्माण भएको जिम्मेवारी भएको बताउनुभएको छ। अग्रजहरूको अनुभवबाट सिक्दै नयाँ पुस्ताको ऊर्जा र आकांक्षालाई संगठनसँग जोड्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ।

मज्गैयाले घोराही कांग्रेसलाई हरेक टोल, पुस्ता र नागरिकसँग जोडिएको अनुशासित, समावेशी, सक्रिय तथा गतिशील संगठनका रूपमा विकास गर्ने लक्ष्य अघि सार्नुभएको छ। उहाँले पार्टीभित्रका सबै पक्षलाई समेट्दै संगठनलाई थप मजबुत बनाउने र कांग्रेसका गतिविधिलाई जनतासँग प्रत्यक्ष जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कांग्रेसको यहि असोज ७ गते पालिका अधिवेशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।