तुलसीपुर, ३ असोज । नेकपा एमाले तुलसीपुर नगर कमिटीले नेपालको संविधान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । नगर कमिटीका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षता तथा पार्टी केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान प्राप्त भएको बताउनुभयो। उहाँले शहीदहरूको बलिदान तथा योगदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै यसको मर्म र भावना कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले पछिल्लो समय नेकपा एमालेमाथि विभिन्न कोणबाट घेराबन्दी भइरहेको बताउदै पार्टीको रक्षा र संगठन सुदृढीकरणका लागि नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ढुण्डीराज लामिछाने, लुम्बिनी प्रदेश कमिटी सदस्यहरू रामजी चौधरी, कृष्ण भुसाल र सीमा न्यौपाने, जिल्ला कमिटी उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी , निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक मेघराज भुसाल लगायतले पार्टी संगठनलाई थप बलियो, सक्रिय र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। नगर कमिटीका उपाध्यक्ष लक्ष्मण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर कमिटीका सचिव जितबहादुर खड्काले गर्नुभएको थियो।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।