२०८३ असोज २ गते शुक्रवार

भोटेकोशी बाढीमा बेपत्ता अनिलका परिवारलाई ५० हजार बढी सहयोग

दाङ, १ असोज । भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका राप्ती गाउँपालिका–६ बगरापुरका २४ वर्षीय अनिल चौधरीको परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । अनिलको परिवारको आर्थिक अवस्था कमजोर रहेको समाचार सार्वजनिक भएपछि दक्षिण कोरियामा रहेका नेपालीहरूले सहयोग संकलन गरी पीडित परिवारलाई पठाएका हुन् ।

राप्ती गाउँपालिका–६ बगरापुर घर भई हाल दक्षिण कोरियामा रहेका सिताराम चौधरीको पहलमा साथीभाइ बाट संकलन गरिएको ५० हजार ६ सय पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियाबाट सिताराम चौधरीले पठाएको उक्त रकम बिहीबार उनका दाजु दुखिराम चौधरीले राप्ती गाउँपालिका–६ का वडा अध्यक्ष दीपक कुमार चौधरीको रोहवरमा अनिलका बुवा परशुराम चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक संकटसँगै छोराको खोजीमा रहेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको सिताराम चौधरीले बताएका छन् । विदेशमा रहेर पनि आफ्नो गाउँका दुःखपीडामा परेका परिवारलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले साथीभाइसँग समन्वय गरेर रकम संकलन गरिएको उनको भनाइ छ ।

सहयोग रकम संकलनमा दक्षिण कोरियामा रहेका आशाराम चौधरी तथा रिता चौधरी, राजेश बिष्ट, छुनीराम चौधरी, जीवन भुसाल, रबिन चौधरी, जितेन्द्र श्रेष्ठ, राजेश ओली, चन्द्र तामाङ, दीपक भण्डारी,निरूसा चौधरी तथा बल बहादुर चौधरी, रञ्जित तण्डुकार, सबित्रा चौधरी, मिना चौधरी, किरण थापा, दीपक आचार्य, दुर्योधन चौधरी, सिलन चौधरी र सिताराम चौधरीले सहयोग गरेका छन् ।

भोटेकोशी बाढीमा परेर अनिल बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनको परिवारले अझै उनको अवस्थाबारे कुनै निश्चित खबर पाउन सकेको छैन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर अनिल बेपत्ता भएका हुन् । घटना भएको लामो समय बितिसक्दा पनि उनको खोजी तथा अवस्था पत्ता लाग्न नसक्दा परिवारजन गहिरो पीडामा छन् ।

अनिलका बुवा परशुराम र आमाले भने अझै छोरा फर्किएर आउने आशा त्यागेका छैनन् । विपत्तिले परिवारको सहारा गुम्ने अवस्था सिर्जना गरे पनि छोराको खोजीको आशा जीवितै रहेको उनीहरू बताउँछन् । एकातिर छोरा बेपत्ता भएको पीडा र अर्कोतर्फ कमजोर आर्थिक अवस्थाका कारण परिवार थप समस्यामा परेको छ ।

अनिलको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको विषयमा देउखुरी टुडे लगायतका सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समाचार तथा भिडियो सार्वजनिक भएपछि सहयोग आउने क्रम बढेको हो । सार्वजनिक सामग्री मार्फत परिवारको अवस्था बाहिर आएपछि विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, विदेशमा रहेका नेपाली तथा व्यक्तिगत रूपमा सहयोग गर्ने व्यक्तिहरूले पीडित परिवारलाई राहत उपलब्ध गराउँदै आएका छन् ।

परिवारका लागि प्राप्त सहयोगले दैनिक गुजारा चलाउन केही सहजता भए पनि अनिलको अवस्था पत्ता नलाग्दासम्म परिवारको मुख्य पीडा भने कायमै छ । लामो समयदेखि बेपत्ता छोराको खोजी र परिवारको भविष्यलाई लिएर बुवा–आमा चिन्तित छन् ।

भोटेकोशी बाढीले अनिललाई परिवारबाट टाढा बनाए पनि उनको पीडामा देश–विदेशमा रहेका नेपालीहरूले देखाएको ऐक्यबद्धताले परिवारलाई केही साहस दिएको छ । दक्षिण कोरियाबाट प्राप्त ५० हजार ६ सय रुपैयाँको सहयोग पनि यही मानवीय भावना र आपसी सहयोगको एउटा उदाहरण बनेको छ । पीडित परिवारले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । परिवारले अनिलको अवस्था पत्ता लाग्ने आशा अझै जीवित राखेको छ । बाढीमा बेपत्ता भएका अनिलको खोजी तथा वास्तविक अवस्था सार्वजनिक हुने प्रतीक्षामा परिवार, आफन्त र स्थानीयवासी छन् ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।