२०८३ असोज १ गते बिहिवार

देउखुरीका ३ पालिकामा शव वाहन नहुदा समस्या, लमही अस्पतालमा भएको शव वाहन विग्रियो

सांकेतिक तस्विर

देउखुरी ३१ भदौ । दाङको देउखुरी क्षेत्रमा शव व्यवस्थापनमा चुनौती देखिएको छ । देउखुरी उपत्यकामा ४ पालिका छन् । ती मध्ये ३ वटा पालिका शव वाहन विहिन छन् भने लमही नगरपालिकामा भएको शव वाहन बिग्रिएर थन्किएको छ । भएको एउटा शववाहन समेत बिग्रिएर थन्किएपछि मृतकका परिवारले शव ओसारपसारमा थप सास्ती व्यहोर्नुपरेको छ।

देउखुरीमा रहेका चार स्थानीय तहमध्ये राप्ती, गढवा र राजपुर गाउँपालिकामा शववाहन छैनन्। लमही नगरपालिकामा रहेको लमही अस्पतालले देउखुरी क्षेत्रलाई लक्षित गरी सञ्चालन गर्दै आएको शववाहन पनि विगत १५र२० दिनदेखि बिग्रिएर थन्किएको छ। शववाहन बिग्रिएपछि आकस्मिक रूपमा शव व्यवस्थापन गर्नुपर्ने परिवारले निजी सवारीसाधन वा एम्बुलेन्सको साहारा लिनुपर्ने अवस्था आएको छ। कतिपय अवस्थामा उपलब्ध सवारीसाधनमै शव बोक्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

लमही नगरपालिका प्रशासन शाखा प्रमुख रेश्मा थापाका अनुसार बिग्रिएको शववाहन पुरानो मोडेलको भएकाले मर्मतका लागि आवश्यक मेसिन तथा पार्टपुर्जा पाउन समस्या भएको छ। यही कारण लामो समयदेखि शववाहन सञ्चालनमा ल्याउन नसकिएको उहाले बताउनुभयो । देउखुरीका चारवटै पालिकाका नागरिकलाई सेवा दिने गरी एउटा मात्रै शववाहन हुनु आफैंमा चुनौतीपूर्ण अवस्था हो। त्यसमाथि उक्त शववाहन समेत बिग्रिएपछि विपद् वा मृत्युका घटनामा शव व्यवस्थापन थप जटिल बनेको छ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारका लागि निजी सवारीसाधन भाडामा लिएर शव लैजानु अतिरिक्त आर्थिक भार बन्ने गरेको छ। एम्बुलेन्सको प्रयोग गर्नुपर्दा पनि शव बोक्नकै लागि छुट्टै व्यवस्था मिलाउनुपर्ने अवस्था आउँदा परिवारजन थप समस्यामा पर्ने गरेका छन्।स्थानीय तहहरूले स्वास्थ्य, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि शव व्यवस्थापनजस्तो संवेदनशील विषयमा भने पर्याप्त पूर्वतयारी र स्रोतसाधनको अभाव देखिएको छ। देउखुरीमा शववाहनको संख्या बढाउनुका साथै बिग्रिएको शववाहनलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ। मृत्यु जस्तो संवेदनशील अवस्थामा परिवारजनलाई थप पीडा र आर्थिक भार नपर्ने गरी स्थानीय तहहरूबीच समन्वय गरेर भरपर्दो शव व्यवस्थापन सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।