२०८३ भाद्र २८ गते आइतवार

आज तीजको दरखाने दिन

दाङ,२८ भदौ ।  यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। तीजको पहिलो दिनका रूपमा मनाइने दरखाने दिनमा माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। तीजको व्रतको पूर्वतयारीका रूपमा समेत दरलाई लिइन्छ। भोलि हरितालिका तीजमा व्रत बस्ने भएकाले आज पौष्टिक तथा सात्त्विक परिकार खाने चलन रहेको छ। विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक, मिठाईलगायत परिकार दरका रूपमा खाने गरिन्छ। दरले व्रतका दिन शरीरलाई आडिलो बनाउने धार्मिक तथा सांस्कृतिक मान्यता छ।

दर खाने समय भने स्थान र समुदायअनुसार फरक–फरक रहेको पाइन्छ। कतिपय ठाउँमा बेलुका अन्य खाना नखाई दर खाने चलन छ भने कतै पहिले खाना खाएर मध्यरातमा दर खाने परम्परा रहेको छ। पछिल्लो समय दरका नाममा अत्यधिक चिल्लो, पिरो, गुलियो तथा मसलेदार परिकार खाने प्रवृत्ति बढेकाले स्वास्थ्यमा असर पर्न सक्ने पोषणविद्हरू बताउँछन्। उनीहरूले दरका रूपमा सन्तुलित, पौष्टिक र सहजै पच्ने परिकारलाई प्राथमिकता दिन सुझाव दिएका छन्। भोलि हरितालिका तीज पर्व मनाइँदैछ भने त्यसको भोलिपल्ट ऋषिपञ्चमी पर्व परेको छ। यससँगै नेपाली हिन्दू महिलाको प्रमुख पर्व तीजको धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।