दाङ, २६ भदौ । विपद् जोखिम न्यूनीकरण, आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य, जलवायु परिवर्तन अनुकूलन र युवा सञ्जालको संस्थागत विकाससम्बन्धी दुईदिने कार्यक्रम शुक्रबार दाङको भालुवाङमा सम्पन्न भएको छ । युनिसेफको सहयोग तथा गैरसरकारी संस्था महासंघ नेपाल र युवा नागरिक समाज सञ्जालको समन्वयमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेशस्तरीय युवा नागरिक समाज सञ्जालका पदाधिकारी तथा सदस्यहरूलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तनमा युवाको भूमिकाका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्सालले युवा सहभागिता, प्रतिनिधित्व र संलग्नतासम्बन्धी कानुनी प्रावधान, युवा सञ्जालको संस्थागत विकास, संरचना तथा सुशासन, भूमिका र जिम्मेवारी, दिगोपन तथा स्रोत परिचालनलगायतका विषयमा प्रशिक्षण दिएका थिए । उनले युवा सञ्जालको कार्ययोजना निर्माणका लागि प्राथमिकताका कार्यहरूबारे समेत सहजीकरण गरेका थिए ।
त्यस्तै, युनिसेफ लुम्बिनी प्रदेश प्रमुख रिदि शर्माले जलवायु परिवर्तन र त्यसका प्रभावबारे प्रशिक्षण दिएकी थिइन् । उनले जलवायु परिवर्तनका अवधारणा, जलवायुजन्य जोखिम तथा प्रवृत्ति, जलवायु परिवर्तनका प्रभाव र अनुकूलनका उपायलगायतका विषयमा सहभागीलाई जानकारी गराएकी थिइन् । सिडिएम नेपालका सूचना व्यवस्थापन अधिकृत विजय सिंह ठकुरीले विपद् जोखिम तथा विपद् जोखिम न्यूनीकरणको बुझाइ, आधारभूत शब्दावली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचना र कानुनी प्रावधान, जोखिम मूल्याङ्कन तथा योजना निर्माण, जोखिम नक्साङ्कन, जोखिममा रहेका समूहको पहिचान, पूर्वतयारी तथा न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका थिए ।
उनले सूचना व्यवस्थापन प्रणाली, पूर्वसूचना प्रणाली, आपत्कालीन सञ्चार तथा समन्वयलगायतका विषयमा समेत सहभागीलाई जानकारी दिएका थिए । कार्यक्रममा युनिसेफ सुपर परियोजनाका प्रदेश संयोजक डम्बर बोहरा, गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशका परियोजना संयोजक केशव भुसाल तथा सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरेले समेत सहजीकरण गरेका थिए । युवा नागरिक समाज सञ्जालका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियोे । कार्यक्रम युवा नागरिक समाज सञ्जाल लुम्बिनी प्रदेशकी अध्यक्ष वर्षा ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।