काठमाण्डौं,२३ भदौ । आज भदौ २३ गते नवयुवा आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको छ। आन्दोलनले उठाएका सुशासन, राजनीतिक जवाफदेहिता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिताका सवाल अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन्। आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले युवामाझ असन्तुष्टि बढायो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभई सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार बनिसकेको थियो। त्यसैले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालबाट सुरु भएको विरोध केही दिनमै सडक आन्दोलनमा परिणत भयो। भदौ २३ र २४ गते दुई दिन चलेको आन्दोलनमा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ठूलो संख्यामा युवा सडकमा उत्रिए।
भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थाको सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता तथा राज्य सञ्चालनमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता आन्दोलनका प्रमुख माग बने। समग्रमा सुशासन आन्दोलनको मुख्य एजेण्डा थियो। आन्दोलनपछि देशको राजनीतिक नेतृत्वमा समेत महत्वपूर्ण परिवर्तन आयो। लोकप्रिय मतका आधारमा वालेन्द्र शाह प्रधानमन्त्री बने पनि आन्दोलनका क्रममा उठाइएका सवाल र त्यससम्बन्धी प्रतिवेदन कार्यान्वयनमा सरकारले अपेक्षित गम्भीरता नदेखाएको गुनासो आन्दोलनमा सहभागी युवाहरूले गर्दै आएका छन्। आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना तथा मातहतका अत्यावश्यक बैंकिङ सेवा भने सञ्चालनमा राख्ने जनाएको छ। एक वर्षपछि पनि नवयुवा आन्दोलनले उठाएका प्रश्नहरू पूर्ण रूपमा टुंगिएका छैनन्। बरु सुशासन, जवाफदेहिता, पारदर्शिता र राज्य संयन्त्रमा पुस्तान्तरणको आवश्यकता अहिलेको राजनीतिक बहसको केन्द्रमा छन्। त्यसैले आन्दोलनको एक वर्ष पूरा भएको दिन केवल विगत सम्झने अवसर मात्र नभई उठाइएका मुद्दा कति सम्बोधन भए र बाँकी जिम्मेवारी कसले पूरा गर्ने भन्ने समीक्षा गर्ने समयसमेत बनेको छ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।