तीनै तहको चुनाव बहिष्कार गरेको तिङ्लामा उपचुनाव हुने, देशभरमा ३२ जना जनप्रतिनिधिको पद रिक्त

सोलुखुम्बु ,२८ कात्तिक – ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –११, तिङ्लामा उपचुनावका लागि सिफारिस गरिएको छ ।जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले देशैभरि उपचुनाव नहुँदा सोलुखुम्बुको तिङ्लामा पनि उपचुनाव हुनुपर्ने प्रतिवेदनसहित सिफारिस गरेको जनाएको छ ।

स्थानीय तह पुनर्संरचनाको बेला आफूहरुलाई पायक पर्ने सोलुदूधकुण्ड नगरपालिकामा नराखी ६ घण्टा टाढा जानुपर्ने नेचासल्यान गाउँपालिकामा राखिएको भन्दै तिङ्लाबासीले तीनै तहको चुनाव बहिष्कार गरेका थिए ।साविक तिङ्ला गाविस हालको सोलु–दूधकुण्ड नगरपालिका–११, मा स्थानीय तहको चुनावमा उम्मेदवारी नै नपरेका कारण जनप्रतिनिधि चयन भएको छैन ।

तिङ्लाममा उपनिर्बाचन गर्न जिल्ला निर्वाचन कार्यालयले केन्द्रमा विवरण पठाएको जनाएको छ । निर्वाचन कार्यालयले गृह मन्त्रालयमा विवरण पेस गरिसकेको र सरकारले निर्णय गरेमा आफूहरु चुनाव गराउन तयार रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नेपालका विभिन्न क्षेत्रमा प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि नभएकाले उप–चुनाव गराउनु पर्ने अवस्था छ । त्यसै समयमा सोलुखुम्बुको तिङ्लामा पनि उप–चुनाव हुने प्रमुख पोखरेलले बताउनुभयो ।तिङलासहित देशभरमा ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौजदारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् ।

रिक्त पदमा नेपालको संविधानले व्यवस्था गरेअनुसार उप–चुनाव हुने आयोगले जनाएको छ । ९९५ घरधुरीका करिब ५ हजार जनसंख्या रहेको तिङलामा स्थानीय चुनावमा २६७६ मतदाता थिए, जुन अहिले ३२ सय पुगेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया