दाङ, ४ भदौ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङ स्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भालुवाङ–प्युठान पक्की सडकखण्डमा भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको जिल्ला प्युठान, स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
स्कुटर अर्घाखाँचीको सितगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएका थिए। दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थानकी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन्। घाइते केसीलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा स्कुटर चालक अभिषेक कुमाल घाइते भएको जनाइएको छ। दुर्घटनामा संलग्न ईभी गाडी, स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





