२०८३ भाद्र २ गते मङ्गलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत पाए,४५ जनाले पक्षमा मतदान गरे

फोटो फाईल

दाङ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । सरकारलाई वहुमत सिद्ध गर्न ८३ सदस्यीय कायम रहेको प्रदेश सभामा ४२ मत आवश्यक थियो । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् ।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नुभएको थियो । आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११ , जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो । प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । यस्तै ३ जना तटस्थ रहेका थिए । प्रदेश सभामा एमाले, नेकपासँगै जसपा नेपाल, राजमो सत्तारुढ बनेका छन् भने कांग्रेस, जनमत विपक्षमा देखिएका छन् । राप्रपा भने तटस्थ रहेको छ ।

जसपा नेपाललाई सरकारबाट हट्न पार्टी केन्द्रले निर्देशन दिएपनि यहाँको संसदीय दलको निर्णयबाट सरकारलाई समर्थन गर्दै एमाले नेतृत्वको सरकार जोगाएको हो । जसपाका चार सांसदले विश्वासको मत नदिएको भए मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नजुटन्ने निश्चित थियो । नेकपा एमाले र नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्ने सहमती गरे संगै सातै प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया