२०८३ साउन ३१ गते आइतवार

तुलसीपुरमा अटो मेकानिक्स ट्रेड युनियनको भेला सम्पन्न

तुलसीपुर ३० साउन । नेपाल अटो मेकानिक्स ट्रेड युनियन तुलसीपुर नगर कमिटी दाङको भेला तुलसीपुरमा सम्पन्न भएको छ। तुलसीपुर क्षेत्रमा सञ्चालनमा रहेका अटोमोबाइल सर्भिस तथा अटो मेकानिक्स व्यवसायीहरूको सहभागितामा भएको भेलाले व्यवसायीका समस्या, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरेको हो।

युनियनका नगर अध्यक्ष दिलीप केसीको अध्यक्षतामा सम्पन्न भेलामा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, श्रमिक तथा व्यवसायीका हकहित, व्यवसायलाई व्यवस्थित बनाउने उपायलगायतका विषयमा आफ्ना धारणा राखेका थिए।
भेलाले अटो मेकानिक्स व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै व्यवसायीबीच आपसी एकता र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ। साथै व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

कार्यक्रममा अध्यक्ष केसीले अटो मेकानिक्स व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूका साझा समस्या समाधानका लागि युनियनले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले व्यवसायीका हकहित संरक्षणसँगै अटोमोबाइल क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने उहाँको भनाइ थियो।

भेलामा आगामी दिनमा व्यवसायीको क्षमता अभिवृद्धि, संगठन विस्तार, व्यवसायसँग सम्बन्धित समस्या समाधान तथा व्यवसायीबीच सहकार्य बढाउने विषयमा समेत योजना बनाइएको थियो। युनियनका उपाध्यक्ष अमर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टीकाराम दाहालले गर्नुभएको थियो। भेलामा तुलसीपुर क्षेत्रमा अटोमोबाइल सर्भिस तथा मेकानिक्स व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको  सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया