२०८३ साउन ३० गते शनिवार

पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी सामग्री जफत गरेको प्रति महासंघको विरोध

फोटो फाईल

काठमाण्डौ, २९ साउन । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोन लगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने उल्लेख छ जारी विज्ञप्तीमा भनिएको छ।

यो संवैधानिक प्रावधानको ठाडो उल्लंघन गर्दै सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण र सामग्री नियन्त्रणमा लिई जफत गर्नु पहिलो दृष्टिमै संविधानप्रदत्त प्रेस स्वतन्त्रता र सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप हो । महासचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, समाचार स्रोतमा पहुँच राख्न अपनाइएको सरकारको यो शैली असंवैधानिक र गैरकानुनी भएको र यसले समग्र प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथिसमेत प्रत्यक्ष असर पार्दछ भन्ने महासंघको ठहर छ । महासंघ राज्यबाट संवैधानिक हकमा भएको अतिक्रमणको घोर निन्दा र भर्त्सना गर्दछ ।

तसर्थ जफत गर्ने नियतले नियन्त्रणमा लिइएका सञ्चार सामग्री अविलम्ब फिर्ता गरी संविधानको पालना गर्न, समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता पूर्ण रूपमा सुरक्षित गर्न राज्यसँग जोडदार माग गर्दछ । यस सन्दर्भमा महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वको एक टोलीले शुक्रबार जनआस्थाको कार्यालय निरीक्षण गरी नियन्त्रणमा लिइएका सामग्री र यसले उसको प्रकाशनमा परेको असरबारे जानकारी लिएको छ । महासंघ पत्रकारको सूचनाको पहँुचसम्म राज्य संयन्त्रको दुरुपयोग गरी गरिएको नियन्त्रणका विरुद्ध लाग्न सबै स्वतन्त्रता पक्षधर नागरिक समुदायसँग आग्रह गर्दछ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया