तुलसीपुर,२६ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तुलसीपुरमा युवाका सवाल, सम्भावना र चुनौतीबारे अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा युवाको भूमिका, अवसर, वातावरण संरक्षण, स्थानीय विकास तथा युवा लक्षित कार्यक्रमका विषयमा सरोकारवाला र विद्यार्थीबीच छलफल भएको हो। कार्यक्रम दुई चरणमा संचालन भएको थियो ।
सो अवसरमा फेकोफनकी पूर्व अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य भारती पाठक, तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे, फेकोफन लुम्बिनीका महासचिव सोभाकर सापकोटा , डिभिजन वन कार्यालय दाङका प्रमुख विशेन्द्रराज सुवेदी, लुम्बिनी प्रदेशका पूर्व योजना आयोग उपाध्यक्ष नहकुल केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव ओली, पूर्व जिल्ला युवा परिषद् दाङका सुरेश कुमार रावत र पत्रकार लक्ष्मी आचार्य लगाएतले संवादको भुमिका निर्वाह गर्नुभएको थियो । साथै पहिलो चरणको छलफल कार्यक्रममा पत्रकारहरु गोपाल शर्मा भटटराइले सहजीकरण गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रिय लेखा संयोजक संगित बस्यालले गर्नुभएको थियो ।
सो अवसरमा तुलसीपुर सेन्टर मावि, गोरखा मावि, हिमाल, ज्ञानज्योति लगायतका विद्यालय तथा क्याम्पसका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा युवाहरूले सरोकारवालासँग विभिन्न प्रश्न राख्दै आफ्ना जिज्ञासा र विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब १२० जना युवा तथा विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा युवाका समस्या पहिचान गरी उनीहरूको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रम नगर युवा सञ्जाल, तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद् तथा तुलसीपुर उपमहानगरपालिकाको नगरकार्यपालिकाको कार्यालयको आयोजनामा तथा महिला पुनर्स्थापना केन्द्र -ओरेक)को सहकार्यमा सम्पन्न भएको हो। स्थानीय युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा सन्जालका सदस्य केबि ओलिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नुभएको थियो ।





