दाङ,२६ साउन । दाङमा अस्पतालमा बिरामी बढेसँगै रगतको मागमा पनि उल्लेख्य वृद्धि भएको छ । रक्तसञ्चार केन्द्र दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरिएको रगतभन्दा बढी रगत बिरामीलाई वितरण गरिएको हो । केन्द्रका अनुसार सोही वर्ष जिल्लामा कुल तीन हजार ५८६ जनाबाट जम्मा छ हजार ८३७ युनिट रगत सङ्कलन भएको छ भने बिरामीलाई सात हजार ५०१ युनिट रगत प्रदान गरिएको छ ।
अघिल्लो आव २०८१/८२ मा जिल्लामा छ हजार २९३ युनिट रगत सङ्कलन भएको र छ हजार ७९० युनिट रगत वितरण गरिएको थियो । यसरी प्रतिवर्ष सङ्कलन र वितरण दुवैमा बढोत्तरी देखिएको छ । रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक ठाकुर पौडेलले गत आवमा सङ्कलन ५४४ युनिटले र वितरण ७११ युनिटले वृद्धि भएको जानकारी दिनुभयो । पौडेलका अनुसार रगत कम्पोनेन्ट मेसिनमार्फत एकै व्यक्तिबाट सङ्कलन गरिएको रगतका तत्व छुट्याएर बिरामीको आवश्यकता अनुसार वितरण गर्दा सङ्कलनभन्दा बढी रगत प्रयोग गर्न सकिने भएकाले वितरण धेरै देखिएको हो ।
घोराही उपमहानगरपालिकासँगको सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीमार्फत एक वर्षभित्र २७० नागरिकले निःशुल्क रगत पाएका छन् । आव २०८२/८३ मा केन्द्रबाट १४६ महिला र १२४ पुरुषले जम्मा ७३२ युनिट निःशुल्क रगत प्राप्त गरेका थिए । मिर्गौला रोगीमा ५७ जना महिला र ६२ जना पुरुष, थैलेसेमियाका २३ महिला र १२ पुरुष, सिकलसेल एनिमियाका सात महिला र दुई पुरुष, क्यान्सर रोगीका सात महिला र चार पुरुष, प्रसूतिका पाँच महिला र अन्य रोगीमध्ये ४७ महिला र ४४ पुरुषले निःशुल्क रगत पाएका केन्द्रले जनाएको छ । गोरखापत्र अनलाइनबाट साभार गरीएको हो ।





