दाङ, २५ साउन । सुनचाँदी व्यवसायीले सुन खरिदका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अब हट्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीलाई सहज हुने गरी अबदेखि सात प्रदेशबाटै सुन उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको सुन सिफारिस समितिको संयोजक धर्मसुन्दर बज्राचार्यको संयोजकत्वमा आइतबार बसेको बैठकले प्रदेशस्तरबाटै व्यवसायीलाई सुन उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुवकुमार गहतराजका अनुसार यसअघि सुन खरिदका लागि व्यवसायीले महासंघमा सिफारिस पठाउनुपर्ने र सुन लिन काठमाडौं नै पुग्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थासँगै व्यवसायीलाई काठमाडौं धाउनुपर्ने झन्झट हट्ने भएको छ ।महासंघले व्यवसायीको सहजताका लागि लामो समयदेखि प्रदेशस्तरबाटै सुन उपलब्ध गराउन माग गर्दै आएको थियो । तर सुन ढुवानीका क्रममा शान्ति सुरक्षाको चुनौती देखाउँदै राष्ट्र बैंकले यसअघि यस्तो व्यवस्था गर्न आनाकानी गर्दै आएको उहाले बताउनुभयो ।
महासंघको निरन्तर आग्रहपछि अब हवाई सेवा उपलब्ध भएका क्षेत्रका बैंकमार्फत सुन उपलब्ध गराउने व्यवस्था मिलाइएको अध्यक्ष गहतराजले बताउनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशको हकमा नेपालगन्ज र भैरहवासम्म हवाईजहाजमार्फत सुन ढुवानी गरिनेछ । त्यसपछि सम्बन्धित प्रदेश महासंघको सिफारिसमा बैंकमार्फत व्यवसायीलाई सुन उपलब्ध गराइनेछ ।सुन वितरणको नयाँ व्यवस्थालाई प्रभावकारी बनाउन सातवटै प्रदेश महासंघले आवश्यक व्यवस्थापनमा सहजीकरण गर्नेछन् ।
साथै महासंघले जिल्ला र नगर संघलाई पत्राचार गर्दै अब देखी सम्बन्धित प्रदेश अध्यक्ष संग समन्वय गरी प्रदेश महासंघमा सिफारिस पठाउन र त्यसको बोधार्थ महासंघमा पठाउन भनेको छ । यसका लागि महासंघका अध्यक्ष अर्जुन रसाइलीले प्रदेश महासंघलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको अध्यक्ष गहतराजले जानकारी दिनुभयो । यसैबीच, नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले सुनचाँदीमा लगाउँदै आएको भन्सार कर हटाउनुपर्ने मागसमेत अघि सारेको छ । महासंघले भन्सार कर हटाउँदा व्यवसायी तथा उपभोक्ता दुवैलाई सहज हुने भन्दै सरकारसँग कर हटाउन माग गरेको हो ।





