काठमाण्डौ, २५ साउन । आज साउन महिनाको अन्तिम सोमबार, दाङ सहित देशभरका मठमन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अन्य सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दानलगायतका काम गर्दछन् । अन्तिम सोमबार भएकाले पुजापाठ गर्नेहरुको भिडभाड भएको पाईन्छ । दाङको तुलसीपुर स्थित त्रिशिद्धेश्वरी मन्दिर-कालिका),शितलपुर, घोराहीको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
उता काठमाण्डौको पशुपतिनाथमा बोलबम तीर्थालुहरुको पनि घुइँचो छ । उनीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, लगाएतका मन्दिरहरुमा आज भत्तालुजनहरुको भिड रहेको छ ।





