२०८३ साउन २५ गते सोमवार

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा केही दिन गर्मी बढ्ने सम्भावना

फोटो फाईल

काठमाण्डौ,२४ साउन । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै इलाममा ६७ मिलिमिटर वर्षा मापन भएको छ ।विषेश गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ । महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग साथै बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ । यो क्रम भोलिसम्म नै रहने अनुमान छ । तर ठूलो वर्षा भने हुने देखिँदैन ।यसैबिच मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । ठूलो वर्षाको सम्भावना नभएकोले बाढी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माणसम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया