सल्यान २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छत्रेश्वरी गाउँपालिका समितिको प्रथम पूर्ण बैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ। गाउँपालिका पार्टी सभापति सम्झना योगीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा विशेष छलफल भएको हो।
बैठकमा प्रमुख अतिथिका रूपमा पार्टी सभापति प्रकाश नेपालीको सहभागी रहेको थियो। उहाँले पार्टी संगठनलाई जनतासँग प्रत्यक्ष जोड्दै आगामी दिनमा गाउँ–गाउँसम्म पार्टीको उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।साथै प्रमुख अतिथि नेपालीले पार्टीको शक्ति केवल नेतृत्वमा नभई संगठन र जनतासँगको सम्बन्धमा निर्भर हुने बताउँदै जनताका समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी एकता, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको उल्लेख गर्दै संगठन विस्तारसँगै जनमुखी गतिविधिलाई तीव्रता दिन आग्रह गर्नुभयो।
बैठकमा प्रदेश विभाग सदस्यहरू हरि केसी र टोपेन्द्र केसी, र्याट विभाग प्रमुख लोकनाथ योगी, संगठन विभाग उपसंयोजक घनश्याम पुन, उपसभापति टिकाराम केसी, जिल्ला सदस्य तुलसा खत्री लगायतको उपस्थिति रहेको थियो।
बैठकमा प्रदेश विभाग सदस्य टोपेन्द्र केसी, हरि केसी, संगठन विभाग उपसंयोजक घनश्याम पुन, र्याट विभाग प्रमुख लोकनाथ योगी लगायतले पार्टीको संगठन निर्माण, आगामी कार्यदिशा तथा स्थानीय तहमा पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राख्नुभएको थियो।पालिका उपसभापति रमिता केसी डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव किरण वलीले गर्नुभएको थियो।





