काठमाण्डौ, २३ साउन । सात राजनीतिक दलले संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चा गरी आठ दलले संयुक्त रूपमा एक अवधारणापत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्।
मोर्चाको प्रस्तावनामा सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखिएको छ। राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्ति अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, र सङ्घीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने मोर्चाको प्रतिबद्धता छ। अवधारणा-पत्रमा भनिएको छ, ुहामी नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विशेषतालाई सम्मान गर्छौं। पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको छ।
मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम, पिछडावर्ग, लगायतका सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर सङ्घर्ष गर्ने जनाएको छ। पारदर्शी, जबाफदेही, र भ्रष्टाचारमुक्त शासन प्रणालीका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, र सम्मानजनक रोजगारीलाई राष्ट्रिय प्राथमिकतामा राख्ने अवधारणा-पत्रमा उल्लेख छ।
मोर्चाका मुख्य उद्देश्यहरूमध्ये नेपालको विविधतालाई राष्ट्रिय शक्तिको रूपमा लिँदै ुएकताभित्र विविधताु को सूत्रमा बाँध्ने र सीमान्तकृत समुदायमाथि भएका अन्याय र विभेद अन्त्य गर्दै उनीहरूको राष्ट्रिय र जातीय पहिचानलाई मान्यता दिने कुराहरू समेटिएका छन्। जात, जाति, वर्ग, लिङ्ग, र धर्मका आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै सामाजिक न्यायको प्रत्याभूति गर्ने मोर्चाको लक्ष्य छ।





