काठमाण्डौ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले गएराति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो ।
झाले आफ्नो पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहलाई महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ । सांसद झाले आफूले हिजो प्रतिनिधिसभा बैठकमा बोलेको कुरालाई इङ्गित गर्दै सरकारले सुधार गर्नैपर्ने केही पक्ष रहेको बताउनुभएको छ ।हिजो संसदमा रास्वपाका सांसदहरू मनिष झा, रमेश पर्साइ, पारसमणि गेलाल, अमरेश सिंह लगायतले सरकारको कामको आलोचना गरेका थिए ।
दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनुभएको थियो । आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ ।





