घोराही,२३ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङको अस्पताल परिसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल परिसरलाई स्वच्छ, सफा, हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार बिहान ८:०० बजेदेखि सञ्चालन गरिएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो। निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा। सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्रा.डा.अजयकुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रतिष्ठानमा कार्यरत प्रशासनिक कर्मचारी, चिकित्सक, नर्सिङ कर्मचारी, सुरक्षा गार्ड तथा आउटसोर्सिङअन्तर्गतका सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो। अस्पताल परिसरको सरसफाइसँगै विभिन्न स्थानमा वृक्षारोपणसमेत गरिएको थियो। कार्यक्रमका क्रममा अस्पताल परिसरभित्र रहेका विभिन्न क्षेत्र, आवतजावत गर्ने स्थान तथा वरपरको वातावरण सफा गरिएको थियो। त्यसैगरी अस्पताल परिसरलाई थप हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले विभिन्न प्रजातिका सयौं बिरुवाहरू रोपिएको थियो।
कार्यक्रमलाई बोल्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा अजयकुमार मिश्रले स्वास्थ्य संस्थाको वातावरण स्वच्छ, सफा र व्यवस्थित हुनु उपचार सेवाको गुणस्तरसँग समेत जोडिएको विषय भएको बताउनुभयो। उहाँले सरसफाई अभियानलाई निरन्तरता दिइने बताउदै बृक्षारोपणपछि बिरुवाको स्याहार गर्न सरसफाईकर्मिलाई आग्रह गर्नुभयो । अस्पतालमा आउने बिरामी, कुरुवा, सेवाग्राही तथा स्वास्थ्यकर्मीका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो।
त्यस्तै, निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीले अस्पताल परिसरको सरसफाइ र हरियाली प्रवर्द्धनलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। अस्पतालको भौतिक संरचनासँगै यसको वरपरको वातावरण पनि सफा, सुन्दर र व्यवस्थित राख्न सकेमा सेवाग्राहीमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो। कार्यक्रममा सहभागी प्राध्यापक, चिकित्सक, कर्मचारिहरूले अस्पताल परिसरको सरसफाइसँगै वृक्षरोपण गरी वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिएका थिए।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वच्छता कायम राख्नु सबैको जिम्मेवारी भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। प्रतिष्ठानमा दैनिक ठूलो संख्यामा बिरामी तथा सेवाग्राही आउने भएकाले अस्पताल परिसरको सरसफाइ, वातावरणीय व्यवस्थापन तथा हरियालीलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको प्रतिष्ठानले जनाएको छ।चिकित्सक, नर्सिङ कर्मचारी,प्रशासनिक कर्मचारी,सुरक्षा गार्ड तथा सरसफाइ कर्मचारीहरूको सामूहिक सहभागिताले अस्पतालको स्वच्छता र वातावरण संरक्षणप्रति प्रतिष्ठान परिवारको प्रतिबद्धताले सकारात्मक शन्देश प्रबाह भएको अपेक्षा गरिएको छ । आगामी दिनमा पनि अस्पताल परिसरको नियमित सरसफाइ तथा वातावरण संरक्षणका गतिविधिलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ।





