भालुवाङ २० साउन । दाङको देउखुरीमा एक व्यक्तिले नक्कली सरकारी कागजात देखाएर विरामीको नाममा पैसा उठाउने गरेको पाईएको छ । दाङको लमही नगरपालिका १ निवासी ज्ञानु नेपालीले आफ्नी आमा ६२ बर्षिया फुर्सी सार्की विरामी भएको भनि वडा कार्यालयको नक्कली सिफारिस देखाउदै आर्थिक सहयोग उठाउने गरेको पाईएको छ । उहाले आफनी आमा प्यारालाइसिसको बिरामी भई लुम्बिनी हस्पिटलमा भर्ना भएको भन्दै गत असार २३ गते वडा कार्यालयले सिफारिस गरेको छ ।
सिफारिस पत्रमा कार्यवाहक वडा अध्यक्ष शोभाराम चौधरीले हस्ताक्षर गर्नुभएको छ । तर उक्त वडा कार्यालयको सिफारिस पत्र र हस्ताक्षर नक्कली भएको वडा अध्यक्ष दामोदर पौडेलले बताउनु भएको छ । नक्कली सिफारिस बनाएर दाङको तुलसीपुर क्षेत्रमा चन्दा अशुल्दै हिडेको खवर पाएको भन्दै उहाले बास्तविक नभएको बताउनुभयो । उहाले उक्त नाम गरेको व्यक्ति आफनो वडाबासी भएको तर विरामी भए नभएको बारेमा वडा कार्यालयले कुनै पनि आर्थिक सहयोगको सिफारिस पत्र नदिएको बताउनुभयो ।
यस बारेमा आफुले थाहा पाएपछि अस्थायी प्रहरी पोष्ट नर्तीमा जानकारी गराएको उहाले बताउनुभयो । सोहि विषयमा तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत उक्त नक्कली सरकारी सिफारिस पत्र लिएर आफु कहाँ आएको उल्लेख गर्नुभएको छ । उहाले सिफारिस पत्र माथी शंका लागेर आफुले स्थानिय युवा पवन रिजाल संग समन्वय गरेर वडा अध्यक्ष पौडेल संग बुझदा नक्कली भएको प्रमाणित भएको उल्लेख गर्नुभएको छ । साथै यस्ता नक्कली सरकारी कागजात गराउनेहरु प्रति सचेत हुनुपर्ने उहाले सामाजिक संजाल मार्फत उल्लेख गर्नुभएको छ ।






