२०८३ साउन २० गते बुधवार

बालेन सरकार हिजो विरोध गरेको बाटोमा हिँड्दैछ : एमाले महासचिव पोख्रेल

तुलसीपुर, २० साउन। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकारले विगतमा विरोध गरेका विषयमै अहिले आफैं अघि बढेको आरोप लगाउनु भएको छ ।प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाले विगतमा राजनीतिक नियुक्तिको चर्को विरोध गर्ने दल अहिले सरकारमा पुगेपछि विभिन्न बहानामा राजनीतिक नियुक्ति गर्न व्यस्त रहेको दाबी गर्नुभयो

“हिजो राजनीतिक नियुक्तिको विरोध गर्नेहरू आज आफैं सरकारमा पुगेर त्यही काम गरिरहेका छन्,” उहाले भन्नुभयो, “विगतमा सांसदलाई स्वकीय सचिव आवश्यक छैन भन्नेहरू अहिले सत्तामा पुगेपछि स्वकीय सचिवको माग गर्दै हिँडिरहेका छन्।”उहाले विभिन्न प्रतिष्ठान, संवैधानिक आयोग तथा सार्वजनिक निकायहरूमा पनि कानुनविपरीत नियुक्ति र गतिविधि भइरहेको आरोप लगाउनु भएको छ । महासचिव पोख्रेलले शान्ति–सुरक्षाको विषयमा पनि सरकारप्रति प्रश्न उठाउनु भयो ।

उहाले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर नागरिकको ज्यान जाँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने दल अहिले सत्ता सञ्चालन गरिरहेका बेला सुनसरी र धनुषामा दुई समुदायबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको घटनामा भने मौन बसेको आरोप लगाउनु भएको छ ।

“यदि जेन्जी आन्दोलनमा भएको घटनाको नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने थियो भने सुनसरी र धनुषामा भएको पछिल्लो घटनाको जिम्मेवारी पनि वर्तमान सरकारले लिनुपर्छ,” उहाले भन्नुभयो, “नत्र विगतमा बोलेका कुरा सच्याउनुपर्छ, होइन भने नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।”पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रेस चौतारी दाङका पूर्व कोषाध्यक्ष गोर्कण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल तुलसीपुर नगर कमिटीका अध्यक्ष बसन्त परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया