२०८३ साउन १८ गते सोमवार

रास्वपाले एक व्यक्ति ,एक तहको प्रतिनिधित्वमा कडाई गर्दै

फोटो फाईल

काठमाण्डौ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्र अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशहरूका लागि सर्कुलर पठाएको छ। निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले आयोगले तीन बुँदे नीतिगत स्पष्टतासहितको परिपत्र पठाएको हो । आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरिएको उक्त परिपत्रमा हालसम्म अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेशहरूमा पहिलो महाधिवेशन चक्रकै प्रक्रिया र नियमहरू लागू हुने स्पष्ट पारिएको छ।  यसअघि जारी गरिएका पार्टीको विधान, निर्वाचन कार्यविधि र केन्द्रीय निर्वाचन आयोगका निर्णय तथा व्याख्याहरू नै बाँकी रहेका अधिवेशनहरूमा पनि समान रूपमा कार्यान्वयन हुने रास्वपाले जनाएको छ।

परिपत्रमा विशेष गरी उम्मेदवारी दर्ता र प्रतिनिधिको हैसियतका बारेमा नयाँ व्यवस्था गरिएको छ। जसअनुसार, महाधिवेशन चक्रमा कुनै पनि तहमा बहाल रहेको सदस्यले अर्को कुनै तह वा पदका लागि उम्मेदवारी दर्ता गर्ने बित्तिकै उसको पुरानो प्रतिनिधिको हैसियत स्वतः समाप्त हुनेछ। यसका लागि सम्बन्धित व्यक्तिले छुट्टै राजीनामा दिनु नपर्ने र पद रिक्त भएको स्वतः मानिने व्यवस्था आयोगले गरेको छ।

यसैगरी, एक व्यक्ति एक तह को प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाले कुनै पनि सदस्यले एकै पटक एकभन्दा बढी तहमा प्रतिनिधित्व गर्न नपाउने नियमलाई कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। एउटै महाधिवेशन चक्रमा कुनै पनि सदस्यको प्रतिनिधित्व एक तहमा मात्र सीमित रहने गरी यो नीति ल्याइएको हो। केन्द्रीय निर्वाचन आयोगले यो निर्देशनको पूर्ण पालना गर्न पार्टीका सबै सदस्य, प्रतिनिधि, उम्मेदवार, पदाधिकारी र अधिवेशन आयोजक समितिहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया