२०८३ साउन १५ गते शुक्रवार

दाङमा खाना पकाउने ग्यास पाउन उपभोक्तालाई सास्ती, सरकारी निकाय भन्छ : केहि दिनमै सहज हुन्छ

तुलसीपुर, १५ साउन । दाङमा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदा सर्वसाधारण उपभोक्ता सास्ती खेप्न बाध्य छन्। विगत लामो समय देखी ग्यासको सहज आपुर्ति नहुँदा उपभोक्ताहरुले हैरानी खेप्न बाध्य छन् । ग्यास पाउन उपभोक्ताले पहिले नै बिल काट्नुपर्ने, त्यसपछि खाली सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने जस्ता समस्या झेल्नु परेको छ। बजारमा राप्ती, भेरी र मनोकामना ग्यासको अभावका कारण आफुहरुदैनिकजसो भौतारिनु परेको उपभोक्ताहरुको गुनासो छ ।

उता जिल्ला प्रशासन कार्यालय दाङले भने केही दिन भित्रै ग्यासको आपूर्ति सहज हुने दाबी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बजारमा देखिएको ग्यास अभावका विषयमा प्रशासनले अनुगमन गरिसकेको र कृत्रिम अभाव सिर्जना नगर्न सुचना जारी गरेको बताउनुभयो । आफुहरुले अनुगमनका क्रममा ग्यास विक्रेताहरूले मागअनुसार उद्योगबाट आपूर्ति नहुँदा समस्या उत्पन्न भएको प्रतिक्रिया दिएको उहाले बताउनुभयो । बजारमा ग्यास आइरहे पनि किन अभाव कायम छ भन्ने विषयमा प्रशासनले थप अध्ययन गरिरहेको उहाको भनाई छ ।

यता इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विनोद बस्नेतले विगतको तुलनामा हाल ग्यास आयातमा उल्लेखनीय कमी नभएको दाबी गर्नुभएको छ । उहाका अनुसार राप्ती, भेरी र मनोकामना ग्यास नियमित रूपमा एक–दुई दिनको फरकमा आइरहेको छ । ग्यास आइरहे पनि बजारमा किन अभाव भइरहेको भन्ने प्रश्नमा तुलसीपुर खबरसंगको कुराकानीमा उहाले केही समय अघि आपूर्तिमा समस्या हुँदा उपभोक्तालाई आधा सिलिण्डर ग्यास वितरण गरिएको स्मरण गराउँदै त्यसयता धेरै उपभोक्ताले अतिरिक्त सिलिण्डर स्टक गर्न थालेकाले यसले पनि केहि अभाव सिर्जनाको स्थिति बनेको बताउनुभयो ।

उहाका अनुसार राप्ती ग्यास उद्योगको दैनिक उत्पादन क्षमता करिब दुई हजार पाँच सय प्रति सिलिण्डर भए पनि हाल दुई हजार सिलिण्डर मात्र बजारमा पठाइँदै आएको छ। शुक्रबार मात्रै तुलसीपुर क्षेत्रमा ४ सय, पश्चिम दाङका लागि ६ सय, पर्सेनी, विजौरी, दुधराज लगायतका क्षेत्रमा ३५०, घोराही क्षेत्रमा ४३५ तथा भालुवाङ क्षेत्रमा ३४० भरिएका सिलिण्डर वितरण गरिएको उहाले जानकारी दिनुभयो । आगामी दिनमा आपूर्ति क्रमशः सहज हुँदै जाने उहाको दाबी छ।

व्यवसायीहरूले पनि माग अनुसार उद्योगबाट ग्यास प्राप्त नभएकाले वितरण व्यवस्थापन कठिन बनेको बताउँदै आएका छन्। यसले बजारमा कृत्रिम अभाव हो कि आपूर्ति व्यवस्थापनकै कमजोरी भन्ने प्रश्नलाई थप गम्भीर बनाएको छ। सरकारी निकायले केहि दिनमै सहज हुने प्रतिक्रिया दिएता पनि उपभोक्तालाई भने अझै ग्यासको चिन्ता छ । ग्यास खोज्दै उपभोक्ता एक डिलरबाट अर्को डिलरसम्म धाउन बाध्य छन् भने कतिपयले अग्रिम बिल काटिसकेपछि पनि हप्ता दिनसम्म सिलिण्डर पाउन सकेका छैनन्।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया