काठमाण्डौ, १५ साउन । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैर–जिम्मेवारीपनका कारण देश ठुलो दुर्घटनातर्फ धकेलिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गर्नुभएको हो ।
सांसद कर्णले आफ्नो गृह जिल्ला सिरहाको अवस्था भयावह रहेको बताउनुभयो ।
कर्णले देवानगञ्जको घटनाबारे सरकारलाई एक महिना अगाडिदेखि जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले चासो नदिएको आरोप बगाउनुभयो। प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नचाहेको र गृहमन्त्री साना कुरामा लोकप्रियता खोज्न अस्पताल पुग्ने तर गम्भीर समस्यामा उदासीन रहेको आरोप कर्णको थियो । सांसद कर्णले अहिलेको सरकारले विगतमा स्थापित गरेको नजिर स्मरण गराउँदै राजीनामाको माग गर्नुभएको छ ।
राज्यको गोलीबाट नागरिकको मृत्यु भएमा प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने नजिर उहाँहरूले नै स्थापित गर्नुभएको हो,’ कर्णले भन्नुभयो ‘त्यही नजिरका आधारमा अब प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’सरकारले गठन गर्ने छानबिन समितिप्रति आफूहरूको विश्वास नरहेको उहाले बताउनुभयो । साथै हिजो बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजनीमा मागिएको थियो ।





