भालुवाङ १५ साउन । राप्ती प्रेस मञ्चले सिराहा, जनकपुर, देवानगञ्ज लगायतका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा उत्पन्न धार्मिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी र महासचिव ओमप्रकाश गुप्ताद्वारा जारी प्रेस विज्ञप्तिमा धर्म, संस्कृति तथा आस्थाको नाममा समाजमा द्वेष, हिंसा र असहिष्णुता फैलाउने कुनै पनि गतिविधि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ।
नेपाल बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको विज्ञप्तिमा जनाइएको छ। मञ्चले विज्ञप्ति मार्फत घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
साथै मञ्चले सबै पक्षलाई अफवाह र उत्तेजनात्मक अभिव्यक्ति तथा गतिविधिबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। यस्तै मञ्चले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा हिंसात्मक गतिविधि तत्काल नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। मञ्चले समाजमा शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सञ्चारमाध्यम, नागरिक समाज, धार्मिक अगुवा तथा सम्पूर्ण नागरिकले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई शान्ति र सहिष्णुताको पक्षमा उभिन आग्रह गरेको छ।





