भालुवाङ १५ साउन। दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सम्म सम्पन्न भएका विकास निर्माण, बजेट कार्यान्वयन तथा सेवा प्रवाहको अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले गाउँपालिकाको सभाहल, मसुरियामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक बीच प्रत्यक्ष संवाद भएको हो।
राप्ती प्रेस मञ्चको सहजीकरणमा आयोजित कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म भएका गतिविधि, विकास योजनाको प्रगति, बजेट खर्चको अवस्था तथा विभिन्न क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेको थियो। कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक सुरक्षा, खानेपानी, सिँचाइ, सडक, विद्युत्, न्यायिक सेवा, प्रशासनिक सेवा तथा सुशासनसँग सम्बन्धित विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
सार्वजनिक सुनुवाइमा स्थानीयले विशेषगरी ग्रामीण सडकको स्तरोन्नति, कृषि उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम, विपन्न समुदायका लागि लक्षित कार्यक्रम तथा सेवा प्रवाहलाई थप सहज र छरितो बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडा अध्यक्ष तथा सम्बन्धित शाखा प्रमुखहरूले दिनुभएको थियो । उनीहरूले नागरिकका गुनासा र सुझावलाई आगामी योजना तथा नीति निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सीमित स्रोतसाधन र बजेटका बाबजुद नागरिकको आवश्यकता सम्बोधन गर्ने गरी गाउँपालिका निरन्तर अघि बढिरहेको बताउनुभयो । उहाँले स्थानीय सरकारको उद्देश्य विकास निर्माण मात्र नभई गुणस्तरीय सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको उल्लेख गर्नुभयो। अध्यक्ष विष्टले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गरी गाउँपालिकाका दीर्घकालीन विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिनुभयो । निर्वाचनका क्रममा सार्वजनिक गरिएको घोषणापत्रका अधिकांश प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै अध्यक्ष विष्टले करिब ८० प्रतिशत प्रतिबद्धता पूरा भइसकेको दाबी गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले गाउँपालिकाले सेवा प्रवाहलाई थप सहज, सुलभ र नागरिकमैत्री बनाउन निरन्तर सुधारका प्रयास गरिरहेको जानकारी दिनुभयो ।उनीहरूले नागरिकबाट आएका सुझावलाई आगामी कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा समावेश गरिने बताएका थिए। कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को प्रगतिविवरण गाउँपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनिल आचार्य र नागरिक प्रतिवेदन राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीले प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता तथा वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार, शिक्षक, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।





