सिरहा, १४ साउन । सुनसरीको कप्तानगञ्जको घटनाको प्रभाव सिरहामा पनि परेको छ । सिरहामा दुई समूहबीच झडप भएको छ । झडप हुदा ११ वटाभन्दा धेरै मोटरसाइकलमा आगजनी भएको छ । सबै नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको छ। त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन । यस्तै धनुषाको जनकपुरमा पनि प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्र, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो । केहि दिन अघि सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा दुई समुह बिच भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारकै क्रममा निधन भएको थियो ।





